नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गीय नेता पुष्पलालको सम्झनामा डकुमेन्ट्री प्रदर्शन हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा बुधवार पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेपालमा कम्युनिष्ट आन्दोलनको डकुमेन्ट्री प्रदर्शन गर्न लागिएको हो ।
‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित म्याग्दी सदरमुकाम बेनीमा पुष्पलालको स्मृति दिवसमा नेपालमा कम्युनिष्ट आन्दोलनको भिडियो डकुमेन्ट्री प्रदर्शन गरिने एमाले म्याग्दीले जनाएको छ । उक्त डकुमेन्ट्री बेनीको वीरेन्द्रचोकमा बुधवार साँझ साढे ६ बजे प्रदर्शन गर्ने तयारी गरिएको छ ।
वीरेन्द्रचोकमा प्रदर्शन गर्ने तयारी गरिएको डकुमेन्ट्री पानी परेको अवस्थामा भने जिल्ला समन्वय समितिको सभाहलमा प्रस्तुत गरिने एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको इतिहासदेखि वर्तमानसम्मका गतिविधिसहित भिडियो डकुमेन्ट्री प्रदर्शन हुने जनाइएको छ ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित डकुमेन्ट्री अवलोकन गर्नका लागि वामपन्थी कम्युनिष्ट र नेपालको कम्युनिष्ट आन्दोलनका जिज्ञासुहरुलाई खुला रुपमा निमन्त्रणा गरिएको एमालेले जनाएको छ । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा भएको हो ।
१९९७ सालमा आफ्ना दाजु अमर शहिद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा स–परिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैँले प्रज्ज्वलित पार्नेछस्” भन्ने दाजुको भनाइ पुष्पलालको निम्ती राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेको थियो ।
नागरिकको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ सालमा नेकपाको स्थापना भारतको कोलकतास्थित श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । वि.सं २०२५ सालमा पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताको रूपमा पुष्पलाललाई मानिन्छ ।
सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारको समेत स्थापना गरेको छ भने पुष्पलाल मध्यपहाडी लोकमार्ग अहिले देशैभर निर्माण भैरहेको छ । पुष्पलालको वि.सं. २०३५ साल साउनको ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । नेपालका कम्युनिष्ट पार्टीहरुले हरेक वर्षको साउन ७ गतेका दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरेर पुष्पलालको स्मृति दिवस मनाउने गर्दछन् ।