धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा पटक–पटक विद्युत् अवरोध हुने समस्याका कारण बिरामीको उपचारमा गम्भीर असर परेको छ। पछिल्लो केही सातादेखि केन्द्रीय प्रशारण लाइन एक घण्टाभन्दा बढी समयसम्म अवरुद्ध हुँदा अस्पतालमा मोबाइलको टर्च लाइट बालेर बिरामीको उपचार गर्नुपर्ने अवस्था आएको हो।
अस्पतालका प्रमुख डा किरण तिवारीका अनुसार सौर्य उर्जामार्फत विद्युतीय आपूर्ति गर्ने व्यवस्था रहे पनि लामो समयसम्म विद्युत् नआउँदा ब्याट्रीमा चार्ज नहुने र सोलारले पनि सबै सेवा धान्न नसक्ने समस्या देखिएको हो।
प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भएपछि उपकरण थपिएसँगै विद्युतीय खपत बढेको र अहिलेको सोलार प्रणालीले त्यो धान्न नसकेको डा तिवारीले जानकारी दिनुभयो ।
‘बर्खाको समयमा घाम नलाग्ने, सोलार चार्ज नहुने र लाइन पनि लामो समय जाने भएकाले रातिको समयमा इमर्जेन्सी कक्षमा मोबाइलको टर्च बालेर उपचार गर्नु परेको हो,’ डा तिवारीले भन्नुभयो, ‘अब यस्ता समस्या दोहोरिन नदिनका लागि अस्पतालले आफ्नै स्रोतमा ब्याट्री ब्याकअपको व्यवस्था गर्ने निर्णय गरिसकेको छ।’
प्राविधिक समस्या र मौसमजन्य कारणले बागलुङमा दैनिक दर्जनौँ पटक विद्युत् आउजाउ हुने गरेको छ। नेपाल विद्युत प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलका अनुसार रुख ढल्ने, लाइनमा अवरोध आउने, वा विभिन्न सबस्टेशन हुँदै लाइन आउनुपर्ने प्रक्रियाले गर्दा पनि ढिलाइ हुने गरेको हो। ‘लोड डिस्प्याच सेन्टर काठमाडौंबाट देशभर सन्तुलित रूपमा बत्ती दिने प्रक्रिया अनुसार पालोपालो लाइन दिइने भएकाले बागलुङमा ढिलो हुने गरेको हो,’ पौडेलले बताउनु भयो ।
प्राविधिक कारणले मात्र नभई विद्युत अभावको कारण उद्योग, व्यवसाय र स्वास्थ्यसेवा सबै प्रभावित बन्न थालेका छन्। अस्पताल प्रशासनले अब छिट्टै समस्याको समाधानका लागि वैकल्पिक व्यवस्था गर्न थालेको छ।