---Advertisement---

पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

On: July 23, 2025 2:15 PM
Follow Us:

पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षणगर्न थालिएको छ । यस वडामा बाहुल्य बसोबास रहेको मगर समुदायको मौलिक सम्पदा भूमे थान, धार्मिकस्थल गिद्धेश्वर मन्दिर, कला र संस्कृतिको संरक्षण तथा व्यवस्थापनमार्फत पर्यटन प्रवर्द्धनको प्रयास थालिएको हो । 

भूमे पूजा गर्ने संस्कृतिको निरन्तरताका लागि थानहरूको संरक्षण, मौलिक पुख्र्यौली नृत्यको पुस्तान्तरण र जनजीवनमा प्रयोग हुने सामग्रीहरूको संरक्षणका सङ्ग्रहालय भवन बनाइएको अन्नपूर्ण–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले जानकारी दिनुभयो । 

मगर समुदायमा भूमे थानको धार्मिक र सांस्कृतिक महत्त्व छ । भूमे थानमा यस समुदायले प्रकृतिको पूजा गर्छन् । धार्मिकस्थल र संस्कृति संरक्षणको साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष हिस्तानको घराम्दी र रिमास्थित भूमेथानमा पूर्वाधार निर्माण गरेको वडाअध्यक्ष पुनले बताउनुभयो । 

“गाउँपालिकाको रु नौ लाख बजेटबाट घेराबार, पदमार्ग र पर्खाल बनाएर संरक्षण गरिएको हो । रिमाको भूमेथानमा समुदायले आर्थिक सहयोग जुटाएर निरन्तरता दिएका छन्”, उहाँले भन्नुभयो, “रु १२ लाख बजेटबाट घराम्दीको भूमेथान वरपर तारजाली लगाएर घेराबार, खानेपानी, सार्वजनिक शौचालय, पदमार्ग र आश्रयस्थल निर्माण भएका छन् ।”

प्रधानमन्त्री रोजगार कार्यक्रमको रु छ लाख ९० हजार बजेटबाट घराम्दी गाउँबाट भूमेथान जोड्ने ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण भएको छ । भूमेथान वरपर पर्खाल, तारबार र फलामको घेराबार गरेपछि दुर्घटनाको जोखिम हटेको अन्नपूर्ण–७ का वडा सदस्य गेमबहादुर पुनले बताउनुभयो । 

“पूजाआजाको समयमा भीडभाड हुँदा साँघुरो ठाउँमा लडेर दुर्घटना हुने जोखिम थियो”, उहाँले भन्नुभयो, “घेराबार, पदमार्ग र खानेपानीलगायत पूर्वाधार बनेपछि सहज र सुरक्षित भएको छ ।” भूमेपूजाका लागि सहरबजार र विदेशमा गएकाहरु पनि आफ्नो जन्मथलो फर्कंदा चहलपहल हुन्छ । 

“म्याग्दीका सबै मगर बस्तीमा जेठ महिनामा भूमे पूजा गर्ने चलन छ । केही ठाउँमा मङ्सिरमा भूमे पूजा गरिन्छ । गाउँलेहरू भेला भएर साझा रूपमा भूमे पूजा गरेर भोज र मगर संस्कृतिमा आधारित पुख्र्यौली नाच प्रस्तुत गर्छन्”, उहाँले भन्नुभयो ।

विपद् र अनिष्ट नहोस् भन्ने कामनासहित भूमेको थानमा भेँडाको साँढेको बलि चढाएर नाचगान गर्दै जमिन र प्रकृतिको पूजा गर्ने चलन रहेको अन्नपूर्ण–७ का पूर्ववडाध्यक्ष गमप्रसाद फगामीले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीको संरक्षण गर्न सङ्ग्रहालय स्थापनाका लागि भवन बनाइएको छ । 

पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको रु २९ लाख बजेटबाट निर्माण भएको दुईतले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री सङ्कलन गरेर राखिने वडा सदस्य बुद्धिवीर पुनले बताउनुभयो । 

यसैगरी, हिस्तानको औलास्थित धार्मिकस्थल गिद्धेश्वर मन्दिर जोड्ने पदमार्गलगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको छ । विभिन्न टोलका पुख्र्यौली नृत्य समूहलाई पोसाक सहयोग र युवा पुस्तालाई कला हस्तान्तरणका लागि प्रशिक्षण सञ्चालन भएका छन् । 

हिस्तानको घराम्दीस्थित प्यारीबाराही तालको वरपर पदमार्ग निर्माण र तालमा उम्रिएको झार निकालेर सफा गरिएको छ । गुराँसे जङ्गलका बीचमा रहेको हिस्तानको फूलबारीमा गुराँस पार्क बनाइएको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय र करवाकेली पदमार्गमा समेटिएको हिस्तानको आकर्षण प्रकृति र संस्कृति हो । रासस

Leave a Comment