वर्षेनी २५ लाख टन भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भिरालो जमिन, कमजोर भू–बनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामीण सडक विस्तार, परापूर्वकालदेखि वग्दै आएको खोल्साखोल्सीको वहावमा परिवर्तन हुनुजस्ता समस्याहरुका कारण जिल्लाका अधिकांश बस्तीहरु बाढी तथा पहिरोको उच्च जोखिममा रहेको छ ।

म्याग्दी जिल्लाको ६१ प्रतिशत भू–भाग ६० डिग्रीभन्दा बढी, ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना रहेको छ भने केवल ३ प्रतिशत भू–भाग मात्र समथर रहेको छ ।
क्षेत्रफलको हिसाबले २ हजार २ सय ९७ दशमलव ६ वर्ग किमी ओगटेको जिल्लामा छोटो समयमा हुने अधिक मनसुनी वर्षा,भूकम्पीय कम्पन्न तथा भौगर्भिक हलचलका साथै जमिनहरु प्राकृतकि रुपमा खिइँदै जानु,भिरालो पाखाहरुमा रहेका ठूला रुख प्रजातिका वनले गर्दा पानी पर्दा भूमिगत पानीका कारण भिरालो जमिनहरु भासिनु जमिनमा धाँजाहरु पर्नु र अन्त्यमा पहिरो जाने गरेको बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रले बताए ।

‘सडक सञ्जाल जोडिएका क्षेत्रमा धेरै बाढीपहिरो देखिएको छ, विकासजन्य गतिविधिमा वातावरणमैत्री कार्य नहुदाँ विनाशनिम्त्याएको छ,हरेक वर्ष नयाँ पहिरो थपिँदै गएको छ,’ बरिष्ठ जलाधार अधिकृत मिश्रले भने ।
म्याग्दीमा नदी प्रणालीको रुपमा हेर्दा म्याग्दीखोला, कालीगण्डकीखोला र रघुगंगा गरी मुख्यतया ३ वटा जलाधार क्षेत्र रहेका छन् । जसले जिल्लाको क्रमशः ५५ प्रतिशत, ३० प्रतिशत र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको अवस्थामा बर्षेनी २५ लाख १५ हजार ७ सय ६० दशमलव २० टन माटो भू–क्षयको रुपमा वगेर गएको अघिल्लो बर्षको तथ्याङङक रहेको छ ।

यसबर्ष समेत पूरानो पहिरोमा नियमित बगिरहेको छ । यो तथ्याङ्क कार्यालयले आवश्यकता अनुसार अद्यावधिक गर्ने गरेको भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको इकाई म्याग्दीले जनाएको छ । भिरालो भू–बनोट रहेको म्याग्दीमा विनाशमुखी सडक र मानवीय क्रियाकलापको कारण भूमिगत जलप्रवाहले खेतीयोग्य जमिन र मानव बस्तीको संरचनामा क्षति बढ्दै गएको छ।
यसबर्ष मनसुन सुरु भएपछि मालिका गाउँपालिका–३ लुप्सीपारमा बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर ३५ वर्षीय जगेन्द्र विकछोरा १३ वर्षका सरोज विकको घटनास्थलमै ज्यान गएको थियो । मृतक बुबाछोरा हुन् । त्यसैगरी अन्नपूर्ण गाउँपालका–४गाडपारकी ७२ बर्षिया सिता फगामीको घर माथिबाट खसेको सुख्खा पहिरोमा ज्यान गएको छ ।

म्याग्दीमा सडक निर्माणको क्रममा निस्किएको कच्चा पदार्थ नदी र खोलामा फाल्ने, भल ब्यवस्थापन लागि नाली निर्माण नगर्नाले दिनप्रतिदिन मानविय क्षतिसंगसंगै खेतीयोग्य जमिनको उत्पादकत्व घट्दै गएको छ ।
प्रकृतिमा रहेका जमिन, जल, जंगल, जनावर र जनतालाई असर नपर्ने गरी विकास पूर्वाधार निर्माणमा तीन तहका सरकारले चासो देखाएका छैनन् । बस्ती माथि र तलबाट सडक तथा अन्य विकास निर्माणका कार्यहरु गर्दा बाढीपहिरोका कारण माटो बगेर नष्ट भएको छ ।
जिल्ला समन्वय समितिका म्याग्दीकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले विगतमा विकास निर्माणका कार्यहरू सञ्चालन गर्दा वातावरण अनुकुलका कार्यहरु अनिवार्य गर्ने सहमतिको कार्यान्वयन नभएको बताइन् । उनले स्थानीय तह, संघ र प्रदेशबाट हुने विकास निर्माणसँगै वातावरण जोगाउने अनिवार्य कार्यहरुलाई प्राथमिकता दिन सकेमा पनि क्षती न्यूनिकरण गर्न सकिने बताइन् । कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी रहेको म्याग्दीमा गाउँ–गाउँमा पुग्ने सडक स्तरोन्नती क्रममा जथाभावि फालिएको माटो र ढुंगाले भू–क्षय र पहिरो जोखिम समेत आगामी दिनमा बढेको छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट ८ लाख ५५ हजार १ सय ७३ टन, रघुगंगा गापाबाट ३ लाख ५० हजार ४ सय ६८ दशमलव १० टन, वेनी न.पा.बाट ३१ हजार १ सय ३७ टन, मंगला गापाबाट ३३ हजार ४ सय ६६ टन, मालिका गापाबाट १ लाख ३ हजार २ सय ३० टन, धवलागिरी गापाबाट ८ लाख ९६ हजार ४ सय दशमलव १० टन र ढोरपाटन शिकार आरक्षबाट २ लाख ४५ हजार ८ सय ८६ टन प्रतिवर्ष माटो विभिन्न खोलानाला हँुदै बगिरहेको तथ्याङ्क भू तथा जलाधार व्यवस्थापन कार्यालयले गरेको थियो ।
४२० वर्ग किमीदेखि १७३ वर्ग किमीको बीचमा रही ७ वटा उप–जलाधार क्षेत्रमा विभाजन गरी प्राथमिकता निर्धारण गरिएको छ ।जसअनुसार ढोरखोला (ढोरपाटन शिकार आरक्ष र धवलागिरी गापाको केही भाग), म्याग्दीखोला–१ (धवगागिरी गापा), म्याग्दीखोला–२ (धगापा. र रघुगंगा गापा),राहुघाट खोला (रघुगंगा गापा), म्याग्दीखोला–३ (वेनी नपा, मंगला गापा, मालिका गापा),कालीगण्डकी नदी (अन्नपुर्णा गापा) र मिरिस्ती खोला (अन्नपूर्ण गापा) रहेका छन् । म्याग्दीमा दशक अगाडीका ठूला पहिरो नियन्त्रणका लागि न्यून बजेट सम्भव नभएकाले दीर्घकालीन योजना बनाउन पटकपटक माग गरिए पनि सुनुवाइ भएको छैन । प्राकृतिकजन्य विपत्तका लागि न्यून बजेटका कारण समेत सामान्य पहिरो समेत रोकथाम गर्न सकिएको छैन ।