म्याग्दीमा प्रहरीले एक वर्षको अवधिमा विभिन्न मुद्दाको अनुसन्धानका लागि एक सय जना आरोपीहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयमा दर्ता भएका एक सय ३३ वटा मुद्दामा संलग्न एक सय जनालाई पक्राउ गरिएको हो।
प्रहरी निरीक्षक सागर पौडेलले दिनुभएको जानकारी अनुसार ज्यान सम्बन्धी ४०, आत्महत्या २२, महिला तथा बालबालिका सम्बन्धी १३, सवारी ज्यान सम्बन्धी १३ र सामाजिक अपराध सम्बन्धी २४ वटा मुद्दा दर्ता भएका छन्।
लागु औषध सम्बन्धी दुई वटा मुद्दामा चार जना प्रतिवादी पक्राउ परेका छन्। चार वटा कर्तब्य ज्यान र ११ वटा जवरजस्ती करणी सम्बन्धी मुद्दाका प्रतिवादीलाई अदालतले १० वर्ष भन्दा बढी सजाय तोकेको छ।
अदालतको फैसलाबाट दोषी ठहर भएका १८ जना प्रतिवादी पक्राउ गरेर ६१ वर्ष १६ दिन कैद र रु. ३५ हजार सात सय जरिवाना असुल उपर गरिएको छ।
एक हजार नौ सय ५२ पटक गरिएको समुदायिक साइझदोरी कार्यक्रममा ३२ हजार दुई सय २९ जना सहभागी भएका छन्।
ट्राफिक दुर्घटना र कारबाहीको विषयमा गत वर्ष भएका १७ वटा सवारी साधन दुर्घटनामा १४ जनाको मृत्यु र १५ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार दुई सय ६५ सवारी साधनलाई कारबाही गरेर रु. ५८ लाख ७९ हजार राजस्व संकलन भएको छ।
प्राकृतिक विपद्को क्षतिका सम्बन्धमा गत वर्ष भएका विपद्जन्य घटनामा आठ जनाको मृत्यु, आठ जना घाइते र दुई जना बेपत्ता भएका छन्। १३ घर पूर्ण, १९ वटा आंशिक क्षति, तीन वटा उच्च जोखिम र १६ वटा जोखिममा परेका छन्।
पशुचौपायामा एक हजार एक सय १३ को मृत्यु, तीन वटा घाइते र १२ वटा बेपत्ता भएका छन्। पाँच वटा गोठमा पूर्ण र चार वटामा आंशिक क्षति भएको छ।
दुई वटा भौतिक संरचनामा पूर्ण र १७ वटामा आंशिक क्षति भएको छ। विपद्जन्य घटनाबाट रु. एक करोड १० लाख ७५ हजार बराबरको आर्थिक क्षति भएको प्रहरीको अनुमान छ।
