---Advertisement---

एसइईमा धेरै विद्यार्थी पास गराउन पाठ्यक्रम परिमार्जन गर्दै सरकार

On: July 24, 2025 1:08 PM
Follow Us:

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बर्सेनि सामाजिक विषयमा धेरै विद्यार्थी फेल हुने अवस्था अन्त्य हुने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययन विषयक पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको रुचि र स्तरअनुसार बनाउने निर्णय गरेको छ।

यसले विद्यार्थीलाई सामाजिक विषय बोझ लाग्ने छैन। पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को असार १९ मा परिषद्का अध्यक्ष शिक्षामन्त्रीको अध्यक्षतामा बसेको ९६औं बैठकले विद्यार्थीको रुचि, स्तर र आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जन गरी सिकाइ उपलब्धिको संख्या नै घटाउने निर्णय पहिलोपटक गरेको हो।

विद्यार्थीको स्तर र रुचि तथा आवश्यकताअनुसारकै कक्षा ४ देखि १२ सम्मकै सामाजिक अध्ययन विषयमा सक्षमता र सिकाइ उपलब्धि घटाउने निर्णय परिषद्ले गरेको केन्द्रका समन्वय शाखाका निर्देशक एवं सूचना अधिकारी पुरुषोत्तम घिमिरेले बताए।

मौजुदा व्यवस्थामा कक्षा ४ देखि ५ सम्म सामाजिक अध्ययन विषयमा सक्षमता १० एकाइ ७ र सिकाइ उपलब्धिको संख्या ३२ कायम रहेकोमा परिमार्जित नयाँ व्यवस्थाअनुसार यो तहको एकाइ ७ नै रहे पनि सक्षमता ७ मा झारिएसँगै सिकाइ उपलब्धि संख्या पनि ३२ बाट क्रमशः कक्षा ४ मा २० र कक्षा ५ मा २२ मा झारिएको छ।

यसैगरी कक्षा ६ देखि ८ सम्मको सक्षमता १४ एकाइ ९ र सिकाइ उपलब्धि संख्या कक्षा ६ मा ३९ र कक्षा ७ र ८ मा ४६ मौजुदा अवस्था छ। यसबाट घटाएर कक्षा ६ देखि ८ सम्मको सक्षमता ९ मा झारिएको छ भने सिकाइ उपलब्धि संख्या कक्षा ६ मा २७ कक्षा ७ मा २९ र कक्षा ८ मा ३० मा सीमित गरिएको छ भने एकाइ ९ नै कायम छ।

कक्षा ९ र १० मा सक्षमता १४ एकाइ १० र सिकाइ उपलब्धि कक्षा ९ मा ४८ र कक्षा १० मा ४६ मौजुदा अवस्थामा परिमार्जन गरिएको छ। परिमार्जित पाठ्यक्रमा कक्षा ९ र १० दुवैको सक्षमता १० कायम गरिएको छ भने एकाइ १० नै छ। सिकाइ उपलब्धि कक्षा ९ र १० दुवैमा ३२ नै कायम गरिएको छ।

कक्षा ११ र १२ को मौजुदा व्यवस्थाअनुसार सक्षमता १३ एकाइ ११ र सिकाइ उपलब्धि संख्या कक्षा ११ मा ३७ र कक्षा १२ मा ४७ छ। तर असार १९ को परिषद् बैठकको निर्णयले यसमा पनि परिवर्तन गरिएको छ।

पाठ्यक्रमको बोझ कम गरेको छ। यसअनुसार कक्षा ११ र १२ को सक्षमता १३ बाट घटाएर १२ मा सीमित गरिएको छ भने एकाइ १२ कायम गरिएको छ। सिकाइ उपलब्धि संख्या कक्षा ११ मा २९ र कक्षा १२ मा ३० कायम गरिएको छ। यसैगरी स्वास्थ्य र शारीरिक शिक्षा कक्षा ९ र १० को पाठ्यक्रम पनि विद्यार्थीको आवश्यकता र स्तरअनुसारै परिमार्जित गरिएको सूचना अधिकारी घिमिरेले बताए 

कक्षा ९ र १० का स्वास्थ्य र शारीरिक शिक्षाको तहगत सक्षमता २०७६ ले १३ वटा कायम गरेको छ। त्यसलाई हाल घटाएर ९ वटामा झारिएको छ। ‘विषयगत क्षेत्र तथा एकाइको संख्या बढी भएका विद्यार्थी, शिक्षक र विज्ञसँगको छलफलबाट आएको सुझावअनुसार विद्यार्थीको स्तर र रुचिअनुसार घटाइएको हो’, सूचना अधिकारी घिमिरेले नागरिक न्यूजसँग भने, ‘पाठ्यघण्टा ५ बाट घटाएर ४ कायम गरिएको छ भने कार्यघन्टा १६० बाट घटाएर १२८ कायम गरिएको छ। सबै ऐच्छिक विषयलाई पाठ्यघण्टा ४ र कार्यघण्टा १२८ निर्धारण गरिएको छ।’

उनले थपे, ‘२०८३ को शैक्षिक सत्रमा जिल्ला र विद्यालय तथा विद्यार्थी निश्चित गरी परीक्षण गरिने छ। त्यसपछि २०८४ को शैक्षिक सत्रदेखि देशभरिका विद्यालयमा नयाँ परिमार्जित पाठ्यक्रम कार्यान्वयन हुन्छ। यसले विद्यार्र्थीको सिकाइ स्तर र एसइई नतिजामा थप सुधार ल्याउने विश्वास गरिएको छ।’

स्वास्थ्य र शारीरिक शिक्षा एकअर्कामा अन्तरसम्बन्धित रहेकाले परिमार्जित पाठ्यक्रमले कक्षा ९ र १० को स्वास्थ्य तथा शारीरिक शिक्षाका केही क्षेत्रगत थिमलाई एकीकृत गरेको छ।

जस्तै– एकाइ १ र २ मा स्वास्थ्य र शारीरिकका विषय क्षेत्रलाई एकै ठाउँमा एकीकरण गरिएको तर आआफ्नो विषयगत पहिचान भएका विषयगत क्षेत्रहरूलाई अलग–अलग निर्धारण गरिएको छ।

मौजुदा अवस्थामा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप ०७६ ले गरेको व्यवस्थाअनुसार कक्षा ४ देखि ८ सम्म सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, कक्षा ९ र १० मा सामाजिक अध्ययन र कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा नाम राखिएको थियो।

यस अवस्थामा कक्षा एउटै विषयको तहगत नाम फरक भएर थप बोझ हुने भएको गुनासाका आधारमा नाममा एकरूपता ल्याउन २०८१ मा कक्षा ४ देखि १२ सम्म सामाजिक अध्ययन विषय नाम राखिएको केन्द्रले जनाएको छ।

गत वर्ष एसइईमा ४८ प्रतिशत मात्र पास थिए। यस वर्ष केही बढी अर्थात् करिब ६२ प्रतिशत पास भएका छन्। हाइलाइट विद्यार्थीको स्तर र रुचि तथा आवश्यकताअनुसारकै कक्षा ४ देखि १२ सम्मकै सामाजिक अध्ययन विषयमा सक्षमता र सिकाइ उपलब्धि घटाउने निर्णय परिषद्ले गरेको केन्द्रका समन्वय शाखाका निर्देशक एवं सूचना अधिकारी पुरुषोत्तम घिमिरेले बताए।

Leave a Comment