---Advertisement---

सामाजिक विकास कार्यालय म्याग्दीले ८४ वटा योजना कार्यान्वयन

On: July 24, 2025 3:43 PM
Follow Us:

सामाजिक विकास कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१/८२ मा ८४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ । गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको ८८ मध्ये ८४ वटा योजना र कार्यक्रम कार्यान्वयन भएका हुन् ।

कार्यालयका प्रमुख तारानाथ सुवेदीले ३८ वटा कार्यक्रममध्ये एउटा कार्यान्वयन नभएको बताउँदै पुँजीगतका २७ मध्ये २४ वटा योजना कार्यान्वयन भएका जानकारी दिए । “विद्यालय पूर्वाधार र शिक्षासम्बन्धी चालुतर्फका २३ मध्ये सबै कार्यक्रम सम्पन्न भएका छन्”, उनले भने, “कुल रु चार करोड ८० लाखमध्ये रु तीन करोड ९४ लाख ६३ हजार खर्च भएको छ ।”

पुँजीगत शीर्षकमा रु एक करोड ४२ लाख २९ हजार विनियोजन भएकामा रु एक करोड १४ लाख २५ हजार र चालुतर्फ रु तीन करोड ३८ लाख २५ हजार विनियोजन भएकामा रु दुई करोड ८० लाख ३८ हजार खर्च भएको प्रमुख सुवेदीले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका–५ को शिख र धवलागिरि गाउँपालिका–७ को हेम नमूना आवासीय माविमा सञ्चालित आवासीय विद्यालयको छात्रावास भवनमा पूर्वाधार निर्माणका लागि रु आठ÷आठ लाख अनुदान दिइएको छ । दुर्गम क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच बढाउन आवासीय विद्यालय सञ्चालनका लागि आवासीय विद्यालय सञ्चालन भएको उनले बताए ।

कार्यालयमार्फत खेलमैदान, सामुदायिक भवन, विद्यालय पूर्वाधार, धार्मिक स्थलहरूको संरक्षणसम्बन्धी योजना, बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्गता, आदिवासी जनजाति, एकल महिला, दलित समुदायको सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यस वर्षका योजनामार्फत खेलमैदान, विद्यालय भवन मर्मत, घेराबार, सामुदायिक भवन, मन्दिर निर्माण भएका छन् । किशोरीको आत्मरक्षा, बालमैत्री स्थानीय शासन प्रवर्द्धन, उद्यमीलाई अनुदान, महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन, ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्नेलगायत कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख सुवेदीले बताए ।

विसं २०८१ मङ्सिरदेखि फागुन तेस्रो सातासम्म कार्यालयविहीन बनेको सामाजिक विकास कार्यालयका कर्मचारीले तीन महिनासम्म तलबसमेत खान पाएका थिएनन् । गत फागुन अन्तिम साता आएका कार्यालय प्रमुख सुवेदीले छोटो अवधिमा उपलब्ध जनशक्ति परिचालन गरी जनप्रतिनिधिहरूसँग समन्वय गरेर योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेका हुन् । रासस

Leave a Comment