---Advertisement---

म्याग्दीको डौंडे काठमाण्डौमा खोसाखोस

On: July 26, 2025 2:02 PM
Follow Us:

म्याग्दीको बनजंगल, खेतबारीमा पाइने डौंडे (निउरो) नियमित काठमाण्डौमा बिक्री हुने गरेको छ । म्याग्दीबाट रात्री बसमा दैनिक ५० केजी डौंडे लगेर बेनी नगरपालिका–५,पुलाचौरका आलोक बानियाँले होम डेलिभरी र होटलबाटै दैनिक बिक्री गर्ने गर्नुभएको छ । गत बर्ष १ हजार केजी बिक्री गर्नुभएका बानियाँले यसबर्ष अधिक माग भएको र महँगो मूल्यमा बिक्री भइरहेको बताउनुभयो ।

‘डौंडे खोसाखोस हुन्छ, एकैदिन सबै बिक्री हुन्छ’ होटल आलोक एण्ड रेष्टुरेन्टका सञ्चालनक समेत रहनुभएका बानियाँले भन्नुभयो । असारदेखि भदौ महिनासम्म बनजंगल, खेतबारीमा उम्रने डौंडेलाई कृषकले सदरमुकाम बेनी ल्याएर सिधै बसमार्फत पठाउने गरेका छन् ।


यो सिजनमा ग्रामिण क्षेत्रमा डौंडे टिपेर घरमा प्रयोगसँगै स्थानीयबजारमा र राम्रो मुल्यमा पाइने भएकाले काठमाण्डौसम्म पठाउने गरेको कृषकको भनाई छ । बेनी नगष्रपालिका, मंगला, मालिका र धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा यो सिजनमा डौंडे प्रसस्तै पाइन्छ । खेतीपाती सकेका कृषकहरु डौंडे टिप्न बनजंगलमा जाने गरेका छन् ।

यो सिजनमा च्याउ, तामा समेत संकलन गर्ने भएकाले कृषकले मनग्य आम्दानी गर्ने गरेका छन् । गाउँमा कृषकले टिपेर सवारीसाधनमार्फत बेनीका ब्यवसायीलाई समेत पठाउने गरेका छन् ।

यो सिजनमा नियमित डौंडे टिपेर मनग्य आम्दानी गर्ने गरेका छन् । गाउँमै कृषकले ६० रुपैयाँ केजीमा बिक्री गर्ने गरेकोमा काठमाण्डौसम्म पुग्दा ढुवानी सहित उपभोक्ताले १ सय २० रुपैयाँसम्म खदिर गर्ने गरेका छन् । म्याग्दी जिल्लाको अर्गानिक तरकारी काठमाण्डौमा पाउने भएपति नियमित प्रयोग गर्ने गरेको म्याग्दी काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो ।

म्याग्दीमा समुन्द्री सतहदेखि १५ सय मिटरको उचाईदेखि २५ सयसम्मको क्षेत्रमा चिसो भएको ठाउँमा डौंडे उम्रन्छ । यो एक जैबिक तरकारी समेत हो । डौंडे (निउरो) ग्रामिण क्षेत्रमा विपन्नले गर्जो टार्न र बजारका भान्सामा तरकारी÷अचारको परिकार बनाउन प्रयोग गर्ने गरिन्छ । डौंडे टुसा पलाएको चार÷पाँच दिन भित्र ठूलो झ्याङ भएको उनिउ बन्छ । डौंडे र निउरोमा एन्टी अक्सिडेन्ट पाईने भएकोले औषधीय र पोषणयुक्त तरकारीको रुपमा लिन थालिएको छ ।

स्वास्थ्यका लागि पनि डौंडे निकै राम्रो मानिएको छ । यसबाट भिटामिन ए, बि र सि पर्याप्त मात्रामा पाइन्छ । डौंडेमा आइरनको मात्रा पनि हुन्छ । आँखाको दृष्टि कमजोर भएकाहरुले पनि नियमित खाँदा लाभदायक हुन्छ । मुटु र मधुमेह रोगीहरुका लागि पनि निउरो निकै उत्तम आहार मानिन्छ । यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने स्वास्थ्य जानकारहरु बताउछन ।

Leave a Comment