---Advertisement---

विकास निर्माण तथा सेवा प्रवाहबारे मालिका गाउँपालिकामा सार्वजनिक सुनुवाइ

On: July 26, 2025 3:53 PM
Follow Us:

मालिका गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजीकरणमा शुक्रवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाले गएको आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

वडानम्बर ६ छ्यारछ्यारेस्थित सभाहलमा आयोजित सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले गत आर्थिक वर्षमा सम्पन्न भएका विकास निर्माण, सार्वजनिक सेवाप्रवाह र उपलब्धि विषयक विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गतवर्ष गाउँपालिका र विषयगत शाखामार्फत सम्पादित कार्यक्रम तथा सञ्चालित योजनाहरुको बारेमा प्रस्तुतीकरण भएको थियो ।

वार्षिक प्रगति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म चालुतर्फ कुल विनियोजित बजेट ३२ करोड ६१ हजार रुपैयाँमध्ये २६ करोड ८८ लाख ८७ हजार आठसय ८८ रुपैयाँ अर्थात् ८४ दशमलव ०१ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ कुल विनियोजित बजेट १८ करोड तीनलाख १५ हजार रुपैयाँमध्ये नौ करोड ५१ लाख ४८ हजार दुईसय ४० रुपैयाँ अर्थात् ५२ दशमलव ७७ प्रतिशत गरी कुल वार्षिक बजेट ५० करोड तीनलाख ७६ हजार रुपैयाँमध्ये ३६ करोड ४० लाख ३६ हजार एकसय २८ रुपैयाँ अर्थात् ७२ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।

गतवर्ष गाउँपालिकाले ७३ लाख ६२ हजार तीनसय तीन रुपैयाँ आन्तरिक राजश्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष ०८१/८२ मा १ सय ३० वटा योजनाहरु उपभोक्ता समिति र १७ वटा योजना तथा कार्यक्रमहरु विद्यालय व्यवस्थापन समितिमार्फत भुक्तानी गरिएको छ । यसैगरी ३३ वटा नयाँ व्यवसाय दर्ता हुँदा १६ वटा व्यवसाय बन्द भएका छन् । गत आर्थिक वर्षमा न्यायिक समितिमा ८ वटा उजुरी परेकोमा सबै छलफल गरी फछ्यौट भएका छन् । सो अवधिमा २० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाले ३ जनालाई ज्येष्ठनागरिक परिचयपत्र वितरण गरेको छ ।

निजी आवास तथा पुनर्निर्माण कार्यक्रम अन्तर्गत १२ जना लाभग्राहीहरुले अन्तिम किस्ता, २ जना लाभग्राहीले दोस्रो किस्ता र ६ जना लाभग्राहीले सम्झौतापश्चात् प्राप्त प्रथम किस्तावापतको रकम सम्बन्धित लाभग्राहीको खातामा जम्मा भएको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्रतर्फ १४ वटा योजनाहरु सम्पन्न भएका छन् । गत आथिक वर्षमा मात्र गाउँपालिकाबाट ३९ जना बसाइँसराई गएकोमा ८ जना फर्किएका छन्भने ४७ वटा सम्बन्धबिच्छेदका घटनाहरु दर्ता भएका छन् ।

कार्यक्रममा सहभागी यामबहादुर पुन, हिरा पुन, तिलक ढकाल, ओमबहादुर रोका, सुर्मन गर्बुजा, मालिका–६, का निवर्तमान वडा अध्यक्ष सन्तनाथ सुवेदी, मालिका–४, का वडा सदस्य गर्भे गुरुङ, पत्रकार प्रताप बानियाँ, देवी जिसी लगायतले विकास निर्माण प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले मालिका र तमानखोला गाउँपालिकाको सिमाना सोलेडाँडामा विवादका कारण निर्माण भएका संरचना बागलुङको तमानखोला गाउँपालिकाले भत्काइदिँदा उपभोक्ता समितिले भुक्तानी नपाएको, गाउँपालिकाभित्र उपभोक्ता समिति र ठेक्कामार्फत सञ्चालित योजनाहरुको गुणस्तरमा धेरै फरक पाइएको, उपभोक्ता समितिबाट निर्माणसम्पन्न योजनाहरुमा बजेट कटौती गरेको, दरबाङ बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान, यातायातको भाडादर समायोजन, योजना निर्माणसम्पन्न भएका योजनाहरुको भुक्तानी पाउन ढिलाइ भएको गुनासा गरेका थिए ।

यसैगरी सार्वजनिक सुनुवाइमा न्यून सहभागिता, वर्षात्को समयमा बेनी–दरबाङ सडक पटकपटक अवरुद्ध हुँदा गाउँपालिकाले चासो नदेखाएको, हेलिप्याडको अवस्था, मालिका धुरी जाने सडक, भाले बास्ने तालको विकास र प्रवद्र्धनमा जोड, गाउँपालिकाको प्रशासनिक जग्गा खरिद प्रक्रिया, दरबाङ बजारभित्र सडक कालोपत्रे योजना निर्माणमा ढिलासुस्ती भएको, वडा कार्यालय भवन निर्माण र कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाहमा सन्तोषजनक नभएको जस्ता प्रश्न तथा जिज्ञासाहरु राखेका थिए ।

सहभागीहरुले गरेका प्रश्न, गुनासा तथा जिज्ञासाको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, प्रमुख प्रशासकीय अधिकृत ढकाल र सिनियर सव–इन्जिनियर दिपक सापकोटाले जवाफ दिनुभएको थियो । गाउँपालिका अध्यक्ष गर्बुजाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो । उहाँले जग्गा खरिद प्रक्रिया, सडक निर्माणलगायत विकास निर्माणमा दुःख दिने र अल्झाउने नियतले बिनाप्रमाण पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने गरिएको भन्दै गुनासो पोख्नुभयो ।

सोही कार्यक्रमको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको पनि नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको थियो भने प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको प्रनाउ थापाले जवाफ दिनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रमको पत्रकारद्वय कृष्णबहादुर जिसी र साधन राम्जालीले सहजीकरण गर्नुभएको थियो ।

Leave a Comment