---Advertisement---

म्याग्दीमा यातायातको नयाँ भाडादर कायम गर्न ढिलाइ

On: July 26, 2025 6:08 PM
Follow Us:

एक साताभित्र म्याग्दीमा एकसाताभित्र कच्ची र पक्की सडकमा नयाँ भाडादर कायम गर्ने सहमति भएपनि स्थानीय तहले छलफल गरी पठाउने भनेको भाडादर नपठाउँदा जिल्लामा नयाँ भाडादर कायम हुन सकेको छैन । गत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकमा गाउँपालिकाबाट पठाइएको भाडादर कर्मचारीले आफुखुसी गरी पठाएको भन्दै जनप्रतिनिधिले असन्तुष्टी ब्यक्त गरेपछि एक साताको समय मागिएपनि हिजो शुक्रबारसम्म मंगला गार्उँपालिकाले मात्रै पठाएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यको संयोजकत्वमा भाडादर निर्धारण उपसमितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र केही कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नगराई पूरानो भाडादरमा नयाँ मिति राखेर भाडादर नै पठाएको भेटिएपछि ५ गाउँपालिकाबाट बैठकमा सहभागि जनप्रतिनिधिले समय माग गर्नुभएको थियो ।मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाबाट जनप्रतिनिधिको सहभागितामा छलफल भएर शुक्रबारसम्म आउनुपर्ने भाडादर आएको छैन ।

गत शुक्रबार बेनी नगरपालिकाले आफ्नो भाडादर कार्यान्वयनका लागि थप छलफल गर्न नपर्ने बताएपछि ५ वटा गाउँपालिकाले समय माग गरेका थिए ।बेनी नगरपालिकाले कार्यान्वयनका लागि पहल गरेपनि भाडादर निर्धारण समितिमा सुरक्षा निकायका प्रतिनिधिले जिल्लाभर एकैपटक कार्यान्वयनमा सहज हुने भएकाले समितिमार्फत निर्णय भएपछि अनुगमनमा बढी भाडा लिएको जानकारी पाएमा कारावही गर्न सहज हुने राय दिएका थिए ।


हाल म्याग्दीका ६ वटै पालिकामा हाल कायम भाडादर चर्को भएको निष्कर्ष निकालिएपनि स्थानीय तहबाट आउनुपर्ने भाडादर ढिलाई हुदाँ यात्रु मर्कामा परेका छन् । हाल सदरमुकाम बेनीबजारदेखि पाँचवटै गाउँपालिकाको केन्द्रसम्म र केन्द्रबाट ग्रामिण सडकमा चल्ने बस, जिप र ट्याक्सीको भाडादरमा यात्रु ठगिदैं आएका छन् । सवारीसाधनले सीट क्षमताभन्दा बढी यात्रु चढाउन नपाउने, हरेक यात्रुसँग टिकट हुनुपर्ने, तोकिएको भाडादर सबै यात्रुले देख्ने गरी राख्नुपर्ने माग छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आइतबार भाडादर आउन बाँकी रहेका सबै पालिकालाई स्मरण गराउने बताउनुभयो । बि.स २०८० साल जेठ ५ गते तोकिएको भाडादर नै जिल्लामा कायम छ । पक्की सडकमा कच्चीको भाडाका विषयमा बेनी अनलाइन र बेनी साप्ताहिकले समाचार प्रकाशित गरिरहेको छ ।

Leave a Comment