मोटरसाइकल दुर्घटनामा परी गंभिर घाइते भएका पति विक्रम अधिकारीको उपचारमा सहयोगका लागि पत्नी अनिता अधिकारीले अपिल गर्नु भएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. २ मल्लाज निवासी अनिताले दुर्घटनामा परी घाइते भएका पतिको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगका लागि सबैसंग अपिल गर्न भएको हो ।
गत असार २६ गते मल्लाजमा मोटरसाइल दुर्घटनामा परी गण्डकी मेडिकल कलेज (जिएमसी) पोखरामा उपचाररत पति विक्रमको थप उपचारका लागि आर्थिक अभाव भएको भन्दै अनिताले देश तथा विदेशमा रहने दाजुभाई दिदी बहिनीहरुसंग सहयोगको अपिल गर्नु भएको छ । ‘हाम्रो घरको आर्थिक अवस्था कमजोर छ, आमा बुवा अपाङ्गता हुनुहुन्छ, छोराहरु साना छन् । उपचारका लागि हामीसंग भएको, हामीलाई पारिवारीक रुपमा सहयोग प्राप्त भएको सहयोग रकम समेत सकिएका कारण थप उपचार गर्न समस्या भएको छ ।
अनिताले सार्वजनिक गरेको अपिलमा भनिएको छ, ‘दुर्घटनामा परी उपचाररत रही पटक पटक टाउकोमा विभिन्न अप्रेसन गर्नु पर्ने अवस्थाका कारण थप उपचारका लागि रकम अभाव भएकाले सम्पूर्ण शुभचिन्तक, आफन्तजन एवं देश विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सक्दो आर्थिक सहयोगका लागि हार्दिक अपिल गर्दछु ।’
घाइते अधिकारीको उपचारमा सहयोगका लागि जलजला गाउँपालिका कार्यालय, जलजला गाउँपालिका वडा नं. २ को कार्यालय र गण्डकी मेडिकल कलेज, हिम सुसेली युथ क्लव जलजला–३ मल्लाज लगायतले आव्हान गरेका छन् ।
घरको अवस्था कमजोर छ, बाबु आमा अपाङ्गता भएका छन्, काम गरेर परिवार पाल्ने मान्छे घाइते भएर उपचाररत हुदा धेरै समस्या सिर्जना भएकाले सबै मिलेर सहयोग गर्नका लागि आव्हान गरिएको आफन्त लाल बहादुर अधिकारीले जानकारी दिनुभयो ।
आनन्द अधिकारी, लाल बहादुर अधिकारी, कमल अधिकारी लगायत अगुवाहरुको सहयोग र सक्रियतामा हालसम्म उपचार भैरहेको र थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगका लागि अनुरोध गरिएको पीडित अनिताले जानकारी दिनुभयो । आर्थिक सहयोग गर्न चाहनेहरुका लागि रमा थापा अधिकारीको ग्लोवल आइएमइ बैंकको क्यूआरकोड सहितको बैंक खाता दिइएको उहाँले जानकारी दिनुभयो ।