साउनको दोस्रो हप्ता आइपुग्दासम्म पर्याप्त पानी नपरेका कारण म्याग्दीमा १४ प्रतिशत खेतमा रोपाइ हुन सकेको छैन । जिल्लाको प्रमुख बाली हुने तल्लो क्षेत्रमा साउन महिनाको पहिलो सातासम्म प्रयाप्त बर्षा नहुदाँ सिचाईको अभावका कारणले धान रोपाइँमा कमी आएको हो । कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क अनुसार जिल्ला भरमा धान रोपाइँ हुने कुल क्षेत्रफलको ८६ प्रतिशतमा रोपाइँ भएको र १४ प्रतिशतको हाराहारीमा खेत अझैसम्म पनि बाँझै रहेको छ ।
अन्नपूर्ण गाउँपालिका ९४ प्रतिशत,रघुगंगा गाउँपालिका ९१ प्रतिशत, धवलागिरी गाउँपालिका ८९ प्रतिशत, मालिका गाउँपालिका ८५ प्रतिशत, मंगला गाउँपालिका ८५ प्रतिशत र बेनी नगरपालिका ८१ प्रतिशतमा धानखेतमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीब बाँस्तोलाले बताउनुभयो । कार्यालय प्रमुख बाँस्तोलाका अनुसार विगतका वर्षहरुमा साउनको दोस्रो सातासम्म रोपाई सकिने भएपनि यसबर्ष प्रयाप्त बर्षा नभएका कारण आकाशे पानीको भर पर्नुपर्ने किसानलाई समस्या भएको छ । बेनी नगरपालिका क्षेत्रमा यस वर्ष प्रयाप्त बर्षा नहुदाँ पानीको मुल फुटेको छैन । नगरपालिका भित्रका खेतबारीमा सिचाई कुलो नभएका र झरना, ठाडो खोलाको भर पर्नुपर्ने किसानहरुलाई समस्या भएको छ ।
म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय १९ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ। त्यसमध्ये जिल्लामा ३ हजार ८ सय ०६ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा आव २०८०÷८१ मा प्रति हेक्टर ३ दशमलव मेट्रिक टन धान भएको थियो। गएको वर्ष १३ हजार ७ सय १ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए। खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ४ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा बाँकी जमिनमा मौसमी सिँचाइ हुने गरेको छ।
म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धान रोप्ने गरिएको छ। विकासे धान खेतीतर्फ भने किसानले चासो देखाएका छैनन्। नदी किनारका फाँटहरूमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ।
पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धान खेतीसमेत गर्ने गरिएको छ। कृषिमा आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धान खेती हुन सकिरहेको छैन। धानलाई मुख्य बाली मानिएको भए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिकहरू बताउँछन्। म्याग्दीको खाद्यान्नतर्फ धान, मकै, गहुँ लगायतका बाली रहेका छन्। कुल जनसंख्याको अनुपातमा वार्षिक १५ सय मेट्रिक टन खाद्यबाली आयात गर्ने गरिएको छ।