---Advertisement---

बेनी नगरपालिकाको ‘एक वडा, एक पर्यटकीयस्थल’ कार्यक्रम

On: July 28, 2025 9:10 AM
Follow Us:

यहाँको बेनी नगरपालिकाले नगरपालिका भित्रका १० वटै वडाहरुमा ‘एक वडा,एक पर्यटकीयस्थल’ कार्यक्रम लागु गरि पर्यटकीय स्थलहरुको खोजी,प्रचारप्रसार र पूर्वाधार निर्माणको काम सुरु गरेको छ ।

सोही क्रममा शुक्रबार बेनी नगरपालिका वडा नं २ को ज्यामरुककोट स्थित ऐतिहासिक स्थल खड्गभवानी कोतमा पर्यटकीय स्थलको बोर्ड अनावरण गरिएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पर्यटकीय स्थल बोर्डको अनावरण गर्दै जिल्ला सदरमुकामदेखि नजिकै रहेको खड्गभवानी कोत एक ऐतिहासिक र धार्मिक स्थल भएकोले यो स्थललाई पर्यटनसँग जोडेर अगाडी बढाउन लागिएको बताउनुभयो ।

बेनी नगरपालिका वडा अध्यक्ष क्लबको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा खड्गभवानी मन्दिर क्षेत्रमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवि, स्थानीयवासीलगायतको उपस्थितिमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा महत्वपूर्ण स्थानको संरक्षण, प्रवर्द्धन र विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको नगरप्रमुख केसीले बताउनुभयो ।

बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले तत्कालिन पर्वत राज्यअन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुकोट ऐतिहासिक महत्व र पुरातात्विक सम्पदा रहेको ठाउँ भएकोले यसलाई पर्यटकीय स्थलको रुपमा विकासगर्न समुदाय, बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले विभिन्न योजनाहरुमा काम गरिरहेको जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीकाअनुसार यहाँ गण्डकी प्रदेश सरकारको रु १५ लाख, पुरातत्व विभागको रु १० लाख र बेनी नगरपालिकाको रु ७५ लाख गरी रु एक करोडको लागतमा पदमार्ग, घेराबार, पटाङ्गिनी निर्माण लगायतका पूर्वाधारहरु निर्माण भइसकेका र थप पूर्वाधारका लागि डिपिआर तयार गरी सम्वन्धित निकायहरुलाई ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व वडाअध्यक्ष हिराबहादुर थापाले भन्नुभयो “खड्गभवानी कोत हाम्रो गौरव हाे, यो कोत यस क्षेत्रको धार्मिक सम्पदा मात्र होइन, ऐतिहासिक पहिचान पनि हो । ज्यामरुकोट क्षेत्रलाई धार्मिक र आन्तरिक पर्यटनको गन्तव्य बनाउने हाम्रो लक्ष्यमा नगरपालिकाले पनि चासो देखाएको छ” भन्नुभयो । उहाँले स्थानीयको सहभागिता र ऐतिहासिक महत्वलाई जोड दिंदै यसको दीगो विकासमा नगरपालिकाको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय बुद्धिजीवि भीमबहादुर पौडेल, दिलबहादुर कार्की, रामकृष्ण घिमिरेलगायतले सो क्षेत्रको महत्वको बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Comment