---Advertisement---

बन्दाले बदलेको हिस्तानीको जीवन दैनिकी

On: July 28, 2025 11:42 AM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दा खेती गरेर वार्षिक एक करोड बढी रकम गाउँमा भित्र्याउने गरेका छन् ।

अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन गर्न सकिने भएपछि पाउद्धारका बासिन्दाले बर्खामा कोदो, मकै रोप्ने बारीमा बन्दा खेती गर्न थालेका हुन् ।

अन्नपूर्ण–७ का वडासदस्यसमेत रहनुभएका कृषक बुद्धिवीर पुनले टिकोटका एक सय परिवारमध्ये अधिकांशले बन्दाखेती गरेका बताए । ‘गत वर्ष एक करोड बराबरको बन्दा बिक्री भएको थियो’, उनले भने, ‘यसपाली कृषक र क्षेत्रफलसँगै बन्दाको उत्पादन तथा आम्दानी बढ्ने अपेक्षा गरेका छौँ।’ उनका अनुसार एक जना कृषकले रु एक लाखदेखि सात लाख सम्मको बन्दा बिक्री गरिरहेका छन् ।

बेमौसमी बन्दाले बजार पाएपछि किसान उत्साहित

तीन–चार वर्ष अघि सम्म पुन सहित टिका पाइजा लगायत पाँच जनाले टिकोटमा बन्दा खेती सुरु गरेका थिए । दुई हजार २५० मिटर उचाइमा उच्च पहाडी भूगोलमा अवस्थित टिकोटको बेमौसमी बन्दाले बजार पाएपछि पछिल्लो तीन वर्षयता कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।

खाद्यबालीको तुलनामा छिटो र नगद आम्दानी हुने भएकाले बन्दा खेती सुरु गरेको टिकोटका कृषक मनराज गर्बुजाले बताए । गत वर्ष एक लाखको बन्दा बेचेको जनाउँदै उनले यसवर्ष १४ रोपनी जग्गामा कोदो र मकैको विकल्पमा बन्दा खेती गरिरहेको उल्लेख गरे।

जेठमा लगाएको बन्दा असारको अन्तिम सातादेखि बजार पठाउने हुन्छ । भदौ महिनासम्म बिक्री गर्न मिल्ने गरी यहाँका कृषकले फरक-फरक समयमा बेर्ना सारेका मनराजले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रतिकिलो रु.५० का दरले बन्दा बिक्री भएको थियो ।

विषादी रहित तकारी उत्पादन

टिकोटका कृषकहरूद्वारा उत्पादित तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङ लगायत विभिन्न स्थानमा बिक्री हुने कृषक टिका पाइजा पुनले बताए ।

रासायनिक मल र विषादीको प्रयोग बिना गाई भैँसीको गहुँत र गोबर प्रयोग गरेर बन्दा लगायतका तरकारी उत्पादन गर्ने गरिएको स्थानीय बताउँछन् । प्राङ्गारिक प्रविधिबाट उत्पादन भएका बेमौसमी बन्दाले बजार र उचित मूल्य पाएकाले कृषक उत्साहित छन् ।‘रासायनिक मलको विकल्पमा स्याउला, पातपतिङ्गर र गाईवस्तुको गोबर कुहाएर मल बनाउँछौँ’, उनले भने, ‘प्राङ्गारिक प्रविधिबाट उत्पादन भएका बेमौसमी बन्दाले बजार र उचित मूल्य पाएकाले कृषक उत्साहित छौँ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोमा ‘तरकारी पकेट कार्यक्रम’ सञ्चालन गरेको छ । पकेट कार्यक्रम मार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविमिा सहयोग गरिरहेको गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा रु १२ लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै टिकोट तरकारी पकेट कार्यक्रमका लागि आगामी आवका लागि थप रु छ लाख रकम विनियोजन भएको जानकारी दिए । कथालिका 

Leave a Comment