म्याग्दीको बेनी नगरपालिका वडा नं–६, डम्बरामा बोलेरो जीप र स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार एक यूवा गम्भीर घाईते भएका छन् । बेनी–दरबाङ सडकखण्ड अन्तरगत बेनीबाट दरबाङतर्फ जाँदै ०३–००१ च १५२३ नम्बरको बोलेरो र तातोपानीबाट बेनी आउँदै गरेको ६७९१ नम्बरको स्कुटर ठोकिँदा स्कुटरमा सवार मंगला गाउँपालिका वडा नं २ सिमलचौरका २९ बर्षिय उमेश केसी घाईत भएका छन् ।
घाईते केसीको टाउको, अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ भने बोलेरो चालक बिएस धौलागिरी कम्पनीका बागलुङका सागर श्रीषलाई सामान्य चोट लागेको छ । घाईते केसीको बेनी अस्पतालमा उपचार भइरहेकोमा अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी भइहरेको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
