लगातारको बर्षाले बेनी–जोमसोम–कोरला सडक खण्डमा बाढीपहिरोले जोखिमलाई मध्यनजर गरी रातिको समयमा सवारीसाधनमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालद्धारा जारी गरिएको अपिलमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका छुसाङ हुदैं उपल्लो मुस्ताङ जोड्ने सडकखण्डमा बाढीपहिरोको उच्च जोखिम रहेकाले सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातको समयमा मोटरसाइकल र अन्य सवारीसाधनमा यात्रा नगर्न अनुरोध गरिएको छ ।

मुस्ताङ जोड्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग सिमाना जोडिएको थासाङ गाउँपालिमा समेत सडकमाथिबाट ढुंगा खस्ने भएकाले जोखिम भएको भन्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसँग समन्वय गरी सडकको अवस्थाका बारेमा जानकारी गराउने गरिएको छ । मनसुन सुरू भएपछि बेनी-जोमसोम-कोरला सडक खण्डको म्याग्दी र मुस्ताङ क्षेत्र पटकपटक अवरुद्ध भएको छ ।
रातको समयमा सडक अवरुद्ध हुदाँ यात्रुलाई उद्धारमा समेत कठिनाइ हुने भएकाले प्रहरी र ट्राफिक मार्फत सडक रुटको अवस्थाका बारेमा जानकारी गराउने म्याग्दीका प्रजिअ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।
बेनी–जोमसोम–कोरला सडकखण्डमा अति जोखिम मानिएका स्थानमा मर्मतका लागि डोजर समेत तयारी अवस्थामा राखिएको छ । कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा साना ठूला पहिरा छन् । सडकखण्डमा मुस्ताङ भन्दा धेरै जोखिम म्याग्दी खण्डमै छ ।