---Advertisement---

बेनी अस्पतालमा अब ज्येष्ठ नागरिकलाई उपचारमा शतप्रतिशतसम्म छुट हुने

On: July 29, 2025 8:08 AM
Follow Us:

बेनी अस्पतालमा नेपाल सरकारले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवामा थप सहज बनाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेरियाट्रिक’ ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन जारी ५० शैया क्षमताको अस्पतालको बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियतसहितको उपचार सेवा विस्तार गरेको छ । नयाँ कार्यविधिअनुसार अब ज्येष्ठ नागरिकले उमेरअनुसार स्वास्थ्य उपचार सेवामा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउनेछन् ।


६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालले तोकेका निश्चित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् । ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता र आर्थिक अवस्थाका आधारमा उपचार सेवाको दायरा बढाएर ७५ प्रतिशत छुट दिइने कार्यविधिका बारेमा जानकारी आएको बेनी अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख दिलकुमारी खत्रीले बताउनुभयो । ‘नयाँ भवन बनेपछि अब हामीलाई थप सुविधा आउन थालेको छ’ अध्यक्ष खत्रीले भन्नुभयो । ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवाका लागि अस्पतालले नयाँ भवनको तल्लो तला प्रयोग गर्ने तथा थप सहजताका लागि बैठकमार्फत निर्णय गर्ने अध्यक्ष खत्रीको भनाई छ ।


कार्यविधि अनुसार ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूले तोकिएका सबै स्वास्थ्य सेवामा शतप्रतिशत छुट अर्थात् निःशुल्क उपचार पाउनेछन् । सेवा लिनका लागि ज्येष्ठ नागरिकले आफ्नो उमेर खुल्ने सरकारी परिचयपत्र पेस गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका ज्येष्ठ नागरिकको हकमा पहिलो प्राथमिकता बिमाबाटै उपचार गराइने र बिमाले नभ्याएको खर्च यस कार्यक्रमबाट बेहोरिने व्यवस्था मिलाइने कार्यविधिका उल्लेख छ ।

यसैबीच अस्पतालको नयाँ भवनको पहिलो र दोस्रो तला प्रयोगमा आएपछि अहिले बिरामीलाई समेत सहज भएको छ । बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानले भौतिक पूर्वाधार सहित थप आधुनिक उपकरणहरुमार्फत बिरामीको सेवा गरिने बताउनुभयो । बेनी अस्पतालले सहुलियत दिन प्रदेश स संघीय सरकारसँग थप सेवा विस्तारका लागि समेत अनुरोध गरेको छ । बेनी अस्पतालमा बार्षिक ६० हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् ।

Leave a Comment