---Advertisement---

पूर्वाधार निर्माण पछि ऐतिहासिक कोत पर्यटकीयस्थलमा परिणत

On: July 29, 2025 7:10 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ऐतिहासिक स्थल खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षक गन्तव्य स्थल बनेको छ । गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधारहरु निर्माण भएपछि छ सय वर्ष पुरानो ऐतिहासिक स्थल खड्गभवानी कोतमा प्राकृतिक दृश्यावलोकन र अध्ययन अनुसन्धानका लागि आउने आन्तरिक पर्यटकहरुको संख्या बढेको हो ।

समुद्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको खड्गभवानी कोतमा मन्दिर, पदमार्ग, तारबार, पटाङ्गिनीलगायतका पूर्वाधारहरु निर्माण भएपछि यहाँ धार्मिक पर्यटकका साथै दृश्यावलोकनका लागि आन्तरिक पर्यटकहरु आउन थालेका छन् । गण्डकी प्रदेस सरकारको रु १५ लाख, बेनी नगरपालिकाको रु ७५ लाख, पुरातत्व विभागको रु १० लाख र अन्य निकायको रु १२ लाख गरी यहाँ रु एक करोड १० लाख बढी लगानीमा धार्मिक र पर्यटकीय महत्वको पूर्वाधारहरु निर्माण भएका छन् ।

त्यसैगरी सापकोटा बन्धुहरुले करिब रु २४ लाखको लगानीमा दुर्गा भगवती मन्दिर निर्माण गरेका छन् भने बगाले थापाहरुले दुर्गा मन्दिर र खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिले गणेश मन्दिर निर्माण गरेका खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले जानकारी दिनुभएको छ ।

कोत परिसरको पटाङगिनी(खुला ठाउँ) मा स्लेट ढुङ्गा विछ्याएर चिटिक्क पारिएको छ । चारैतिर धुपि र सल्लाका रुखको हरियाली र उत्तरतर्फ फर्केर हेर्दा दिखिने धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खलाहरुले यहाँ पुग्ने जो कोहीलाई पनि मुग्ध बनाउने बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

त्यसैगरी दक्षिणतर्फ बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्यावलोकन गनृ पाइनुका साथै गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । बेनी बजार,कालीगण्डकी,गलेश्वर,पुलस्त्य आश्रम,ढोलठान लगाएतका ऐतिहासिक र धार्मिकस्थलहरुको समेत यहाँबाट अवलोकन गर्न पाइनेहुँदा पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकहरुको संख्या बढेको वडाअध्यक्ष कार्कीले बताउनुभयो ।

विसं १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा तत्कालिन पर्वत राज्यको विस्तारसँगै पर्वत राज्यका शक्तिशाली राजा दिलिपवम (डिम्ब) मल्लका सन्तान भर्दिवम मल्लको समयमा सामरिक क्षेत्र बनेको इतिहासमा उल्लेख छ । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन् ।

बेनी नगरपालिकाको रु पाँच लाख र वडा कार्यालयको रु दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा दुई सय १० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटाङ्गीनी निर्माण, नाग थान र मौलो राख्ने ठाउँको मर्मत गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले जानकारी दिनुयो ।

“ऐतिहासिक स्थलको पूर्वाधारलाई सुरक्षित गरि धार्मिक र पर्यटकीय स्थल बनाउने उद्देश्य अनुरुप काम गरिरहेका छौँ”वडाअध्यक्ष कार्कीले भन्नुभयो “गौश्वारमा निर्माणाधिन गोवर्द्धन धाम र पञ्चकोट धामको सामुन्नेमा रहेको ऐतिहासिक खड्गभवानी कोतलाई धार्मिक पर्यटकीय धाम बनाउने योजना सहित काम भइरहेको छ । इतिहासलाई वर्तमानसँग जोडेर भविष्यमा धार्मिक पर्यटकीय धाम बन्दैछ खड्गभवानी कोत ” अध्यक्ष कार्कीले भन्नुभयो ।

Leave a Comment