---Advertisement---

बेनीमा साढे दुई सय वर्ष पुरानो लाखे नाचको प्रदर्शन सुरु

On: July 29, 2025 7:35 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्षदेखि देखाइँदै आइएको लाखे नाचका प्रदर्शन यस वर्ष पनि सुरु भएको छ । मंगलबार नागपञ्चमीको दिनदेखि बेनीमा लाखे नाच देखाउन सुरु गरिएको हो । आजभन्दा करिब तीनसय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो ।

लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । नेपाल भाषा मंकाखलको आयोजना तथा यूवा संगठन ल्यामपुचको ब्यवस्थापनमा सदरमुकाम बेनीबजारमा लाखे नाच सुरु गरिएको हो ।


घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा वर्षे नाच भएको हो । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलाठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको सङ्ज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीको प्रशिद्ध नाच हो ।

यस्तो छ लाखे नाचको विशेषता
रमाइलो पक्ष त के छ भने बेनीका नेवार समुदायका व्यक्तिहरूले लाखे बन्ने व्यक्ति परिवर्तन गरिरहन्छन् तर, लाखे बन्न लगाइने मुखौटो भने साढे दुई सय वर्ष अघिकै प्रयोग गर्दै आइरहेका छन् । ‘समय र प्रविधिसँगै नेवार समुदायको संस्कृतिमा पनि निकै उतारचढाव र परिवर्तन आए । कैयौँ पुस्ता बिते ।


अनेकौँ मौलिक संस्कृति लोप भए तर लाखे नाचका लागि प्रयोग गरिने मुखौटो (मुकुण्डो) मा भने कुनै परिवर्तन आएन । करीब दुई सय वर्ष अर्थात् नौ पुस्तादेखि एउटै मुकुण्डो प्रयोग हुँदै आएको छ’ नेपाल भाषा मंका खलका उपाध्यक्ष कुविरकुमार श्रेष्ठले बताउनुभयो । लाखे नाचमा अन्य गतिविधिभन्दा पनि मुखौटो विशेष आकर्षणको केन्द्र हुने गर्छ । बेनी बजारमा मानवबस्तीको विस्तारसँगै नेवार समुदायले पनि हरेक वर्ष लाखे नाच देखाउँदै आएका छन् ।

अहिले पनि दुई सय वर्ष पहिलाको उही मुखौटो लगाएर नाच देखाउने गरिन्छ ।पहिलो पुस्ताले ल्याएको मुखौटोलाई अहिलेका नवौँ पुस्ताका सदस्यले समेत प्रयोग गर्दै आएको बेनी नगरपालिका–७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । बेनीका नेवार समुदायसँग रहेको मुखौटो नेपालभरिका नेवार समुदायको भन्दा विशेष आकर्षक रहेको र यसको चर्चा सर्वत्र हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । बेनीमा लाखे नाच, जोगी नाच, नागनागिनी नाच, श्रीकृष्ण रथयात्रासहित विविध नाच देखाइने गरिन्छ ।


जनशक्तिको अभाव हुन थालेपछि रोपाई नाच, हनुमान नाच लगायत धेरै जनशक्ती भएका नाचहरु भने नियमित हुन सकेका छैनन् । बर्खे नाचको सुरुवात लाखेको पतिअर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेर हुन्छ भने तीजको साँझमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ । हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले बताएका छन् ।

Leave a Comment