म्याग्दी जिल्लालाई एन्फामा आबद्ध गराउने उद्देश्यले जिल्ला खेलकुद विकास समितिले बुधबार अन्तरक्रिया कार्यक्रम गरेको छ । समितिको सभाहलमा म्याग्दी जिल्ला फुटबल संघसहित १५ वटा क्रियाशील क्लबहरूको सहभागितामा आयोजित अन्तरक्रिया कार्यक्रममा म्याग्दीलाई एन्फाको मान्यता प्राप्तीका लागि समितिमार्फत क्लवलाई आवश्यक सहयोग गर्ने अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

एन्फामा आवद्ध हुन क्लबहरूलाई आवश्यक कागजातहरू, विधान संशोधन लगायतका मापदण्ड साउन महिनाभित्र पूरा गर्ने गरी क्लव नविकरण सहितका कार्यहरुमा समितिले सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

‘हामीले आवश्यक प्रक्रिया पूरा गरे मान्यता दिने आश्वासन पाएका छौ, यो जिल्लाको फुटबलका लागि कोशेढुंगा सावित हुनेछ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । अध्यक्ष श्रेष्ठले यसअगाडी एन्फा मान्यताका लागि आवश्यक सहयोग गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र उपाध्यक्ष दीपक खतिवडासँग भेट समेत गर्नुभएको थियो ।

बुधबारको भेलामा म्याग्दी जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले खेलकुद समितिमार्फत फुटबल खेलका लागि भइरहेको कामको प्रशंसा गर्नुभएको थियो । अध्यक्ष बानियाँले एन्फाबाट तालिम लिएका प्रशिक्षकहरु भएपनि एन्फाको मान्यता प्राप्त गरेमा फुटबल खेलमा म्याग्दीले फड्को मार्ने बताउनुभयो ।

हालसम्म गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, लमजुङ, बाग्लुङ, स्याङ्जा, नवलपुर (साबिकको नवलपरासी) र मनाङ जिल्ला फुटबल संघ एन्फामा आवद्ध छन् । छलफलमा जिल्लाभित्रका क्लवका अध्यक्ष तथा प्रतिनिधिले तोकिएको समयभित्रै आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।