---Advertisement---

हृदयन्द्रको जुम्ला डायरी: भ्लगमार्फत सादगी प्रस्तुत, विनम्रताको चर्चा

On: August 1, 2025 6:34 AM
Follow Us:

आफ्नो २३ औं जन्मदिनको अवसरमा पूर्वयुवराज हृदयन्द्र शाहले कुनै भव्य समारोह वा तामझाम आयोजना गर्नुको सट्टा कर्णालीको सुन्दर जिल्ला जुम्लाको यात्रा समेटिएको भ्लग सार्वजनिक गरे।

आफ्नो फेसबुक पेजबाट सार्वजनिक ‘माई ट्रिप टु जुम्ला’ शीर्षकको उक्त भ्लगले छोटो समयमै सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। उनको यो प्रयास र भ्लगमा देखिएको विनम्र तथा सरल स्वभावको धेरैले खुलेर प्रशंसा गरिरहेका छन्।

https://www.facebook.com/hridayendra.bir.bikram.shah.107/videos/1409217860310447

अंग्रेजीमा भाषामा भ्वाइसओभर गर्दै हृदयन्द्रले आफ्नो यात्राको उद्देश्य प्रस्ट्याएका छन्। उनले भनेका छन् ‘नेपालमा घुम्नका लागि धेरै ठाउँहरू छन् र यो तीमध्ये एक हो। म यहाँ पहिलोपटक आएको हुँ र पटक-पटक आउनेछु।’

भ्लगमा उनले जुम्लाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक र स्थानीय जनजीवनलाई नजिकबाट प्रस्तुत गर्ने प्रयास गरेका छन्।

जुम्ला बजारमा घुम्ने क्रममा हृदयन्द्र एउटा सामान्य कफी पसल ‘ब्ल्याक स्टोन बेकरी’ मा पस्छन्। त्यहाँ उनले काठमाडौं छाडेर ८ वर्षदेखि जुम्लामा बेकरी चलाइरहेका एक युवा उद्यमीसँग कुराकानी गर्छन्।

ती युवाले ‘आफ्नो ठाउँमा केही गर्न पाए राम्रो’ भन्ने सोचले जुम्ला फर्किएको बताउँदा हृदयन्द्र प्रभावित देखिन्छन्। उनले त्यहाँको स्थानीय उत्पादन चिजकेकको स्वाद लिँदै प्रशंसा गर्छन्।

त्यस्तै, उनले कर्णाली प्राविधिक शिक्षालयको भ्रमण गरेका छन्। त्यहाँका विद्यार्थी ममन उपाध्यायसँगको कुराकानीमा उनले शिक्षालयमा फार्मेसी, कृषि, सिभिल इन्जिनियरिङ र स्वास्थ्य सहायक जस्ता विषय पढाइ हुने र यसले कर्णालीका युवालाई रोजगारीमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेकोबारे जानकारी लिन्छन्।

भ्लगको अर्को रोचक पक्ष स्थानीय संस्कृतिसँगको उनको साक्षात्कार हो। उनले डुडुल चैत्य (गुम्बा) मा स्थानीय युवती पञ्चकली बुढासँग भेट्छन्। उनलाई स्वागत गर्दै आफैँले शब्द भरेको जुम्ली लोकगीत ‘जुम्ला फल्छ धान धान, संसारकै अग्लो ठाउँमा…’ सुनाउँछिन्। स्थानीय महिलाहरूको समूहले पनि उनलाई परम्परागत गीत गाएर स्वागत गर्छन्।

आफ्नो यात्रामा उनले कर्णाली राजमार्गको कठिन अवस्था, नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका, मार्सी धान र अर्गानिक स्याउको प्रचुर सम्भावना, रारा र शे-फोक्सुन्डो जस्ता पर्यटकीय गन्तव्यको महत्त्वबारे पनि जानकारी लिएको देखिन्छ।

भ्लगमा उनले जुम्लाको सुन्दरतालाई क्यामेरामा कैद गर्दै स्थानीयसँग घुलमिल भएको देख्न सकिन्छ।

Leave a Comment