म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । आइएमई समूहको लागनीमा हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको आयोजना निर्माणस्थलमा परिचालित भएको सिभिल ठेकेदार रुसुवा मल्टी जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालेको हो ।
ठेकेदार कम्पनीका इञ्जिनियर विद्युत्जङ्ग रावतले बाँधदेखि सुरुङ निर्माणस्थलसम्म पुग्ने दुई सय मिटर लामो एप्रोच कल्भर्टबाट आयोजनाको भौतिक संरचना निर्माणको काम थालिएको जानकारी दिए ।
आयोजनाका अनुसार अन्नपूर्ण चार किलोमिटर आठ सय मिटर लामो सुरुङबाट ल्याउने पानी अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । सुकेबगरको इनलेट, नारच्याङ पुल नजिकैको अडिट र नौलीबगरको आउटलेटबाट सुरुङ निर्माण गरिने छ । विद्युत्गृहदेखि आउटलेटको हेड एक सय पाँच मिटर अग्लो छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत बनाइने भएको छ ।
मध्य कालीगण्डकीको विद्युत् नौलीबगरभन्दा छ किलोमिटर माथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिने छ । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको लागत रु १२ अर्ब ९३ करोड अनुमान गरिएको छ ।
कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत लगानी नबिलसहित एभरेस्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको लगानी छ। नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर रु ८.४० र वर्षायामको दर रु ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र वर्षामा दुई सय ७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ।