डा. दलिपकुमार मल्ल
नेपालको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको समीपबाट अविरल बग्ने कालिगण्डकी (कृष्णगण्डकी, शालिग्रामयुक्त नदी) र धवलागिरि हिमशङ्खलाबाट उद्गम भई राखुको पश्चिम हुँदै बग्ने रघुगंगाजस्ता दुई नदीको सङ्गमस्थल एवं धार्मिक स्थल गलेश्वरधामदेखि लगत्तै उत्तरपश्चिम फैलिएको साथै अन्नपूर्ण र निलगिरि हिमशृङ्खलाहरूले शोभायमान अति नै मनोरम स्थल ‘राखु’ हो, जसले ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्िवक, भौगोलिक मान्यता बोकेको छ।
यो यस्तो शैक्षिक तथा धार्मिक भूमि हो, १५२५ सालमा कास्कीका राजा कुलमण्डन शाहले राखुपुला प्रदेशबाट डण्डपाणि पाध्यालाई आफ्ना गुरु बनाउन ल्याएका थिए। यही राखुको मुक्तिनाथ सदार्वत गुठी सञ्चालन गरिने रानाीपौवा, जसले ठुलो धार्मिक सेवा गरेको थियो। तर हाल आएर यसको भग्नावशेषमा घरको जग मात्र देखिने अवस्था छ।
ऐतिहासिक महत्त्व
राखुको महारानी पौवामा राजा रणबहादुर शाह १८५१ सालतिर नै मुक्तिनाथको तीर्थ यात्रीका लागि आउँदा उहाँको आदेशअनुसान आँप तथा दारिमका रुख रोप्न लगाइएको थियो भन्ने भनाइ छ (अधिकारी क्षेत्रबहादुर, २०५४)। मुक्तिनाथ सदार्वत गुठीको स्थापना १८६३ सालमा राजा रणबहादुर शाहकी माहिली श्रीमती सुर्वणप्रभाले मुक्तिनाथ तीर्थ गर्दा मुक्तिनाथ जाने जोगी–सन्यासीका लागि बस्नेखाने व्यवस्थापन मिलाउन यो गुठी स्थापना भएको थियो। यसको केही समयपछि नै यो रानीपौवा स्थापना गरी यही राखुबाट नै गुठी सञ्चालन गरिएको थियो।
टाढाटाढाबाट हजारौंको संख्यामा तीर्थयात्रीहरूको आगमन हुने यस पुण्यस्थलमा नेपालको एकीकरणपछि त्यस क्षेत्रमा जाने तीर्थयात्रीको सुविधाका लागि पौवाहरूको निर्माण गरी सदार्वत बाँड्ने, धुनी लगाउनेजस्ता परोपकारी कार्यको लागि गुठीको स्थापना गर्न तत्कालीन राजा तथा रानीहरूको ध्यान गएको देखिन्छ। यो गुठीको स्थापनामा २५३० मुरी खेत राखिएको छ।
यस्तो ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको राखु गुठीका संरचना हाल संरक्षणको अभावमा नष्ट हुँदै छन्। त्यस समाजको चेतनाको अभाव र धार्मिक, सांस्कृतिक महत्त्व बुझ्न र बुझाउन नसक्नुको परिणाम हो यो। आज आएर यस प्रवित्र स्थल तथा संरचनाको केही जगका संरचना देख्न सकिन्छ।
संस्कृतिकर्मी डा. रमेश ढुंगेल भन्नुहुन्छ, ‘मुक्तिनाथ र राखु रानीपौवा गुठी केदारनाथ र बद्रीनाथको गुठीजस्तै हो। धार्मिक तीर्थयात्राको व्यवस्थाका क्रममा मुक्तिनाथ मन्दिर वरिपरि मात्र नभएर मुक्तिनाथ जाने बाटोमा पाटीपौवाहरू स्थापना गरिएका थिए।
दिनमा हजारौं तीर्थयात्रीलाई खानेबस्ने व्यवस्थापन गरेको राखुगुठीको महत्त्व अहिले ओझेलमा परेको छ। सामाजिक भाव बोकेको गर्व गर्न लायक यो सदावर्द गुठी हाल बन्द हुँदा तीर्थयात्रीलाई पुगेको समस्यामा राज्यको आँखा पुगेको देखिँदैन।
२०२१ असोज १४ को पत्रमा चौतरियाज्यूसँग पास भएको पत्रलिपिअनुसार १२ पाथी धानको एक पाथी चामलका दरले उठाउँदा पनि ८३ मुरी चामल हुने रहेछ। यो उठेको चामलबाट साधुसन्तलाई सर्दावर्त दिने र बढी हुन आएको चामल गाँउ पञ्चायतको आम्दानीमा बाँकी रहेको सार्वजनिक काममा लगाउनु भनी लेखिएको पत्रले पनि यो क्षेत्रमा सामाजिक कार्य गरेको देखिन्छ। अहिले आएर राखुगुठीलाई रैकर छुट आवाज आएको छ।
शत प्रतिशत छुट भएमा राम्रो तर केही छुट र बाँकी रकम गुठीमा तिर्ने व्यवस्था गरी गुठी सञ्चालनमा त्यो रकम हस्तान्तरण गर्नु नै राम्रो थियो। तर हाल यसको भग्वनावशेष र यसको जिम्मा गुठीले लिएपछि यो प्रचलन हटेर गएको छ। २०३२ सालपछि मुक्तिनाथ सदार्वत गुठी संस्थानबाट सञ्चालन गर्ने भएपछि र मुक्तिनाथ जाने बाटो पनि रघुघाटबाट कालीगण्डकी तिरैतिर वेगखोला जाने बनाएपछि यो राखुको महारानी सदार्वत गुठी ओझेलमा परेको हो।
यसको मर्मतसम्भार नभएपछि यो गुठीको भवन भत्कने अवस्थामा थियो। पछि यसलाई त्यहाँँको समाजले यसको संरचना भत्काएर झन नष्ट गरिदिएको थियो। त्यसपछि यसलाई पुनस्र्थापना गर्न सकिएको छैन। हाल यो गुठीमा बनेको संरचनाको जग मात्र देख्न सकिन्छ।
पुनर्स्थापना
समय परिवर्तनशील छ। मानिसका चाहना अनगिन्ती हुन्छन्। रुढीवादी जमानाबाट मानिस पुँजीवादी जमानामा ढल्केका छन्। अहिले मानिस पैसाका लागि मरिहत्ते गरेका छन्। आखिर पैसा मात्र सबै थोक होइन भन्ने तथ्य इतिहासले पनि देखाइसकेको छ। पैसा कमाए पनि धर्मकर्ममा मानिसले जति आन्नदाभूति गर्छ, यस्तो अनुभूति अरू केहीमा गर्न सक्दैन।
अब राखुवासीको आवश्यकता भनेको राखुगुठी सञ्चालन गरी मुक्तिनाथ जाने जोगी सन्यासी र तीर्थयात्रीको सेवासुविधा उपलब्ध गराउनु हो। यो नै हाम्रो धार्मिक–सांस्कृतिक मान्यताअनुसार स्वर्ग पुग्नु हो वा स्वर्गान्दित लिनु पनि हो। अब राखु समाजले एउटा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस गुठीलाई व्यवस्थित गरी पुनस्र्थापना गर्नुपर्छ। राखु–मुक्तिनाथ जाने तीर्थयात्रुका सवारी साधनबाट केही कर रकम लिएर यो गुठी सञ्चानल गर्न सकिन्छ।