---Advertisement---

म्याग्दी क्याम्पसका विद्यार्थी र उद्यमी बीच अन्तरक्रिया, उद्यमशीलता कार्यक्रममा छनौट हुने दुई विद्यार्थीलाई सम्मान

On: August 2, 2025 9:34 PM
Follow Us:


म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्व्यमा म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थी तथा उद्यमीहरु बीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।


पछिल्लो समय विद्यार्थीलाई उद्यमशिलता तालिममार्फत विभिन्न कार्यक्रमहरु गरिरहेको क्याम्पसले वर्तमान समयमा बौद्धिक पलायन हुने परम्परालाई कम गर्ने र विद्यार्थीहरुलाई उद्यमशीलताको धारणा विकासित गराई स्वदेशमा नै रोजगार बन्ने संभावना र अवसरको वातावरण निर्माण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।


कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्षसुविन श्रेष्ठले म्याग्दी बहुमुखी क्याम्पसले यस प्रकारको कार्यक्रम गरेर विद्यार्थीहरुलाई स्वरोजगार बन्नका लागि गरेको प्रयासको प्रसंशा गर्नुभयो । त्यस्तै सफल उद्यमी सह–कोषाध्यक्ष म्याग्दी उद्योग वाणिज्य संघका वावुराम आचार्यले विद्यार्थीहरुलाई विदेशमा रहँदा आफैले भोगेका अनुभवहरु साट्दै स्वदेशमा नै रोजगार सृजना गर्ने र उद्यमी बन्न अभिप्रेरित गर्नुभयो ।


पर्यटन तथा उद्योग कार्यालय, बेनी म्याग्दीका प्रमुख अमृत प्रसाद कडेलले उद्योग व्यवसायहरुको दर्ता गर्दा हुने सहजता र प्रक्रियाका सम्वन्धमा जानकारी राख्नुभयो कार्यक्रममा व्यवसाय र उद्यमशीलता गर्दा अपनाउनु पर्ने सावधानी एवम् जोखिमहरुको सम्वन्धमा अन्तरक्रिया मार्फत विद्यार्थीहरुले राखेका जिज्ञासाहरुको समाधान गर्ने प्रयास समेत गरिएको थियो ।

म्याग्दी क्याम्पसका अध्यक्ष दिपेन्द्र श्रेष्ठले यस प्रकारका कार्यक्रमहरु नियमित गर्नका लागि सञ्चालक समितिले सहजीकरण गर्ने जानकारी दिनुभयो। क्याम्पस प्रमुख श्रीधर सुवेदीले विश्वविद्यालय अनुदानको सहयोगमा सम्पन्न उद्यमशीलता कार्यक्रमबाट छनोट भएका विद्यार्थीहरु श्रीकृष्ण अधिकारी र श्रेया श्रेष्ठलाई सफल उद्यमी बन्न शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुलाई व्यवसायिक एवम् उद्यमी बन्नको लागि अभिप्रेरित सहित कार्यक्रमको निरन्तरताको आवश्यकता औल्याउनु भयो ।

उक्त कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगको अन्तिम प्रतिस्पर्धाबाट छनौट भई बीऊ पूँजीको रुपमा सातलाख भन्दा बढी बीऊ पुँजी प्राप्त गर्ने विद्यार्थीहरु श्रीकृष्ण अधिकारी र श्रेया श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।


क्याम्पस प्रमुख श्रीधर सुवेदीको अध्यक्षता र पूर्व क्याम्पस प्रमुख रामजी प्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको स्वागत एवम् विषय प्रवेश व्यवस्थापन विभागका विभागीय प्रमुख विष्णु प्रसाद आचार्यले गर्नुभएको थियो । कार्यक्रममा सहायाक क्याम्पस प्रमुख भोलानाथ घिमिरे, पशुपतिनाथ ढकाल लगायत प्राध्यापक, कर्मचारी र विद्यार्थी गरी ८० जना भन्दा बढीको उपस्थिति रहेको सहायक क्याम्पस प्रमुख नारायण प्रसाद सुवेदीले जानकारी गराउनुभयो ।

Leave a Comment