---Advertisement---

बुकीपाटनमा प्लास्टिकजन्य फोहर बढ्दा सुन्दरता कुरुप बन्ने खतरा

On: August 3, 2025 2:27 PM
Follow Us:

ढोरपाटन सिकार आरक्षअन्तर्गतको बुकीपाटन क्षेत्रमा प्लास्टिकजन्य फोहर बढ्दै गएपछि त्यसले प्राकृतिक सुन्दरता कुरुप बनाउने खतरा बढेको छ । पहिले गोठाला र वस्तुभाउ मात्र पुग्ने यो उच्च पहाडी क्षेत्र अहिले आन्तरिक तथा विदेशी पर्यटकको गन्तव्य बन्न थालेको छ ।

पर्यटकसँगै प्लास्टिकजन्य सामग्री फाल्ने प्रवृत्ति बढ्दा वनफूलले ढाकिने बुकीपाटन क्षेत्रमा अहिले चाउचाउ, बिस्कुटका खोल, बोतल र सिसा यत्रतत्र फालिएको पाइएको छ । ढोरपाटन नगरपालिका–९ पाखाथर हुँदै बुकीपाटन जाने पदमार्ग, खोल्सा, डाँडा र खोलानालामा समेत फोहर देखिन थालेको छ । सिकार आरक्ष र पर्यटन कार्यालय बागलुङले फोहर संकलनका खाडल बनाए पनि पर्यटकले त्यसको प्रयोग नगर्ने गरेको पाइएको छ ।

गोठाला लोकबहादुर विश्वकर्माका अनुसार प्लास्टिक खाएर तीन वटा भेडा मरेका छन् । फुर्से देउराली, गर्पाछेडा, टीकाधारा जस्ता क्षेत्रमा फोहर झन् बढ्दै गएको होटल व्यवसायी धिरेन्द्र घर्तीमगरले जानकारी दिनुभयो ।

ढोरपाटन सिकार आरक्षले सरसफाइका लागि कर्मचारी पठाउने गरे पनि पर्यटकको लापरवाहीले समस्या ज्यूँकात्यूँ रहेको सूचना अधिकारी पशुपति अधिकारीको भनाइ छ । पर्यटक र सम्बन्धित निकायले जिम्मेवार नभए बुकीपाटनको वातावरण र जैविक विविधता जोखिममा पर्ने खतरा बढ्दै गएको सरोकारवालाहरूको चेतावनी छ । रासस

Leave a Comment