म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाटबाट दुई साता अगाडी एक वित्तिय संस्थामा काम गर्ने कर्मचारीको मोटसाइकल पार्किङस्थलबाटै हरायो । केही दिनपछि सिंगा तातोपानीमा तोडफोड गरेको अवस्थामा भेटियो । गत साउन १५ गते मंगलाघाटकै ललित जिसीको ध १ प ४५५५ को होन्डा साइन मोटरसाइकल राती २ बजे आँगनबाट चोरी भयो ।
करिब साढे ३ बजे आसपासमा डम्बराको सिसीक्यामेरामा देखिएको मोटरसाकलमा एक जना सवार छन् ।चोरी भएको मोटरसाइकल बेनी दरबाङ सडकखण्डबाट लैजादै गरेको सिसीटिभी फुटेज सहित जिसीले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन दिए पनि फेला परेको छैन ।
मंगलाघाठबाटै दुई हप्ताको आसपासमा दुई मोटरसाइकल चोरी गरी पश्चिम म्याग्दी तर्फ लैजादै गरेको अवस्थामा देखिएकाले एउटै ब्यक्ति वा समुहबाट मोटरसाइकल चोरी भएको आशंका स्थानीयले गरेका छन् । ‘घर बाहिर राखिएको मोटरसाइकल चोरी भयो,खोजीकार्य गर्दा पनि भेटिएको छैन’ ललित जिसीले बेनीअनलाइनलाई भन्नुभयो ।सदरमुकाम बेनीबजारका चोक तथा गल्लीमा राखिएको मोटरसाइकलको हेल्मेट समेत चोरी हुने गरेको छ ।
रातीको समयमा मदिरामा लठ्ठ भएकाले सवारीसाधनको लाइट तोडफोड गर्ने, बालचोरहरुले बोलेरो फुटाउने घटना समेत हुने गरेको छ। बजार क्षेत्रबाट चोरी भएका मोटरसाइकल जिल्लाभित्रै ग्रामिण क्षेत्रमा लैजादै गरेको देखिएकाले अपरिचित वा चोरीका मोटरसाइकल भएको आशंका लागेमा खवर गर्न अनुरोध समेत गरिएको छ । यता प्रहरीले मंगलाघाटबाट चोरी भएको मोटरसाइकलको खोजीकार्य भइरहेको जनाएको छ ।