---Advertisement---

काठमाण्डौमा बस्ने धवलागिरीबासीलाई घुम्ती शिविर मार्फत सेवा, बृद्धबृद्धालाई राहत

On: August 4, 2025 9:04 AM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका-१ गूर्जाकी ८४ बर्षिया नन्द छन्त्याल र ८२ बर्षिय मनि छन्त्याले सामाजिक सुरक्षा भत्ताको नविकरण काठमाण्डौमै गर्नुभयो । मराङका ७१ बर्षिय मोतिप्रसाद पुन वडाका जनप्रतिनिधि काठमाण्डौमै आएर सेवा दिएपछि दंग हुनुुहुन्छ ।

काठमाडौको तारकेश्वर नगरपालिकाको मनमैजु स्थित एन्जल हर्ट स्कुलमा शनिबार र आइतबार सञ्चालित घम्ती शिविरमा धवलागिरीका ७ वटै वडाबाट काठमाण्डौमा बसोबास गर्ने बृद्धबृद्धा,अपाङ्गता भएका, एकल महिलाको सामाजिक सुरक्ष भत्ताको नविकरण सहित जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा दिइएको गाउँपालिकाका प्रबक्ता एवम् वडा नं ३ का वडा अध्यक्ष देबेन्द्र रोकाले बताउनुभयो ।हामीले गाउँपालिकाबाट दिने सेवा लिएर काठमाण्डौ पुग्दा बृद्धबृद्धाको अनुहारमा खुसी झल्किएको थियो, यो सेवालाई आगामी दिनमा पनि निरन्तरता दिन्छौ।’

काठमाण्डौबाट वडासम्म पुगेर सेवा लिन नसक्ने अवस्था तथा बर्खाको समयमा हुने सास्तीलाई मध्यनजर गरी धवलागिरी गाउँपालिका समाजसँगको सहकार्यमा घुम्ति शिविर आयोजना गरिएको थियो । घुम्ती शिविरको उद्घाटन गदैं उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले चालु आर्थिक बर्ष २०८२÷०८३ मा म्याग्दीमा विभिन्न परियोजनामा नयाँ १ अर्बको हाराहारीमा बजेट भित्रिएको बताउँदै थप नयाँ योजनाहरुका लागि समेत सक्रिय रहेको बताउनुभयो । ‘म्याग्दीका लागि अझै धेरै योजनाहरु ल्याउने काम भइरहेको छ, समृद्ध म्याग्दीको खाकामा हामीले सक्ने सबै काम गछौं’प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गर्बुजाले भन्नुभयो ।

गाउँपालिकाले आयोजना गरेको शिविरमा १ सय ४ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ताको नामावली नविकरण गरेका छन् । केही अपाङ्गता भएकाहरुको घरदैलोमै पुगेर समेत सेवा दिइएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विभिन्न कारणले काठमाण्डौमा परिवारसँगै बस्नुभएका सेवाग्राहीलाई सहज हुने गरी सञ्चालित शिविर प्रभावकारी देखिएकाले आगामी दिनमा पनि यहाँ बासोबास गर्नेहरुको समय मिलाएर अन्य आवश्यक सेवा दिने बताउनुभयो ।

गाउँपालिकाका ७ वटै वडाका अध्यक्ष सहित वडा सचिबले काठमाण्डौमा सेवासँगै धौलागिरी गाउँपालिका समाजको आयोजनामा गंगालाल हृदयरोग उपचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्रका प्रमुख डा. रवी मल्लको नेतृत्वमा रहेको चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले निशूल्क मुटुरोग उपचार सम्बन्धी सेवाबाट १ सय ४ जना लाभान्वित हुनुभएको धवलागिरी गाउँपालिका समाज काठमाडौका प्रमुख सल्लाहकार दिप छन्त्यालले बताउनुभयो ।

सोही अवसरमा कृषि र पर्यटनका विषयमा प्राध्यापक याम पुन, शिक्षाका विषयमा एञ्जल हार्ड स्कुलका प्रिन्सीपल धनबहादुर पुन र उर्जाको विषयमा दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दरखोलाका अध्यक्ष भण्डारीले अहिलेको अवस्थामा गाउँपालिका भित्र निर्माणधिन अवस्थामा रहेको आयोजनाका लागि समुदायस्तरको लगानी र सक्रियताको आवश्यकता र महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा धवलागिरी गाउँपालिकाको ८० बुदे प्रतिवद्धतापत्रमा गाउँपालिकाका अध्यक्ष र धवलागिरी गाउँपालिका समाज काठमाडौका अध्यक्ष लिलबहादुर पुनले हस्ताक्षर गर्नुभएको थियो । यसैबीच पोखरामा बसोबास गर्ने लाभग्राहीहरुलाई लक्षित गरेर साउन २० र २१ गते पोखराको नदीपुर स्थित छन्त्याल समाजको भवनमा घुम्ति शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Comment