राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ‘नन-ग्रेडेड’ ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति तय गरेको छ। बोर्डका अनुसार, परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुनेछ।
सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै बोर्डले ग्रेड वृद्धि परीक्षाको मिति घोषणा गरेको हो।
बोर्डका अनुसार, सैद्धान्तिकतर्फ अन्य विषयमा ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा ‘नन-ग्रेडेड’ ल्याएका वा अनुपस्थित भएका परीक्षार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्।
दुईभन्दा बढी विषयमा ‘नन-ग्रेडेड’ हुने विद्यार्थीले भने अर्को वर्ष नियमित परीक्षार्थीका रूपमा सबै विषयको परीक्षा दिनुपर्नेछ।
परीक्षामा सहभागी हुनका लागि आवेदन फाराम भर्ने मिति, शुल्क र प्रक्रियाबारे बोर्डले चाँडै अर्को सूचनामार्फत जानकारी गराउने जनाएको छ। सामान्यतया, विद्यार्थीले तोकिएको शुल्कसहित आफ्नो विद्यालयमार्फत आवेदन दिनुपर्ने हुन्छ।
यस वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ मात्रै १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ‘नन-ग्रेडेड’ भएका छन्।