---Advertisement---

म्याग्दीमा डिजिटल ठगीबाट जोगिन सचेतना आवश्यक !

On: August 5, 2025 12:57 PM
Follow Us:


म्याग्दीमा डिजिटल प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरू बढ्न थालेको छ । प्रविधिको पहुँच बढ्दै गएको भए पनि बैंकबाट हुने कारोबार अनि गोपनीयता जस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरूको संख्या व्यापक बढेको छ ।

गत साता बेनी साप्ताहिकले म्याग्दीको ग्रामिण क्षेत्रका दुई सहकारीको ओटिपी कोड प्रयोग गरी ४ लाख नै खाताबाट गायब गरिदिएको घटना सार्वजनिक भएको छ । बैंक खातासँग वालेट आइडी लिंकअप, खता नवीकरण गर्ने भन्दै अपरिचित ब्यक्तिले दैनिक लिंक पठाएर ठग्ने गरिन्छ । सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म चिट्ठा परेको भन्दै मोबाइल वालेटको ओटीपी (वान टाइम पासवर्ड) मागेर ठगी गर्ने गुनासो सहितको उजुरी प्रहरीको तथ्याङ्कले नै छर्लङ पारेको छ ।

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक बर्ष २०८१÷०८२ मा अनलाइनबाट लाइसेन्स बनाइदिने, थोरै लगानीमा धेरै पैसा कमाउने, परिवारका सदस्य विरामी भएको भन्दै सामाजिक सञ्जाल ह्याक गरी साथीहरूलाई पैसा माग्ने,आफू इसेवाजस्ता मोबाइल वालेटको कर्मचारी भएको भन्दै ओटीपी कोड माग्ने र रकम ट्रान्सफर गरी ठगी गरेको ३४ उजुरी परेको छ । त्यस्तै यस आव २०२÷०८३ मा ओटीपी (वान टाइम पासवर्ड) कोड मागेर ४ लाख गायब भएको साउन महिनाको दोस्रो सातासम्म दुई उजुरी प्रहरीमा दर्ता भएको छ ।

दैनिकजसो सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरू धेरै भएकाले यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार नागरिकहरू पीडित हुने देखिएको छ ।

सूचना तथा प्रविधिको विकासले मानव जीवनलाई सहज, छरितो र प्रभावकारी बनाएको अवस्थामा यही प्रविधिको दुरुपयोग गरेर सर्वसाधारणलाई ठग्ने, आर्थिक शोषण गर्ने र समाजमा अस्थिरता सिर्जना गर्ने क्रियाकलाप पनि दिनप्रतिदिन बढ्दो अवस्थामा रहेकाले अब सचेतनामुलक अभियानलाई ग्रामिण क्षेत्रसम्म पु¥याउनुपर्छ । बैंकिङ, शिक्षा, स्वास्थ्य, व्यापारलगायतका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग व्यापक हुदै गएको अवस्थामा सचेतनाको अभावले छिटो धनी हुने सपनामा धेरैले पैसा गुमाएका छन् ।

डिजिटल ठगीसँग सम्बन्धित मुद्धाको प्रकृति हेर्दा पीडितहरूले आफ्नो मोबाइलमा आएका लिंक खोल्ने, बैंक विवरण साझा गर्ने, ओटीपी नम्बर दिनेजस्ता सामान्य त्रुटिबाट लाखौं गुमाइरहेका छन् । प्रविधिको ज्ञान भएका तर अपराधिक मानसिकताले यूवापुस्ताहरु अपराधमा तानिइरहेका छन् ।

अर्कोतर्फ प्रविधिको तीव्र विकाससँगै अपराधका स्वरूपहरू बदलिँदै गएको अनुसन्धान गर्ने निकायहरूको स्रोत, सीप र अधिकार सीमित छन् । यसैले डिजिटल ठगी नियन्त्रणका लागि वर्तमान कानुनको पुनरावलोकन र प्रविधि–मैत्री ढंगले अद्यावधिक गर्न ढिलाइले समेत अपराधिक गतिविधिमा संलग्नहरुले डिजिटल प्रविधिको दुरुपयोग गरेका छन् ।

डिजिटल प्रविधिले भविष्यको सुरक्षित बाटो देखाउन प्रविधिको दुरुपयोगलाई न्यूनीकरण गर्नतर्फ अग्रसर हुनुपर्छ । विद्यालय, क्याम्पस र समुदायस्तरमा साइबर सुरक्षा सम्बन्धी सचेतना अभियान सञ्चालन गरी हरेक नागरिकलाई ठगिनबाट जोगाउन सकेमा डिजिटल ठगीलाई निस्तेज पारी सुरक्षित युगको थालनी हुन्छ ।

यो बेनी साप्ताहिक पत्रिकाबाट साभार गरिएको हो ।

Leave a Comment