माध्यामिक शिक्षाको अन्तिम (कक्षा १२) को परीक्षामा न्यू वेस्ट पोइन्ट आवासीय माविकी बर्खा थापाले ३.९१ जीपीए सहित म्याग्दी जिल्लाको सवोत्कृष्ट नतिजा ल्याएकी छन् । उनको नतिजा साविकको धौलागिरी अञ्चल भित्रका चारवटै जिल्लामा अहिलेसम्मकै उच्च रहेको दावी समेत गरिएको छ । बागलुङ नगरपालिका वडा नं १० भकुण्डे हाल बेनी नगरपालिका–८ मा बस्ने बर्खाले म्याग्दी जिल्लामा हालसम्मकै उत्कृष्ट जिपिए ल्याएकी हुन् ।
न्यू वेस्ट पोइन्टमा आधारभुत तहदेखि नै अध्ययनरत विद्यार्थी थापाले एसइइमा अपेक्षा गरे अनुसारको नतिजा नआएकोमा कक्षा १२ को नतिजाले पूरा गरेको बताइन् । ‘विद्यालयकी मेधावी विद्यार्थी हुन, आमाको सपना पूरा गरेकोमा निकै खुसी छिन्’ विद्यालयका भाइस प्रिन्सिपल कृष्ण जिसीले भने । बर्खाकी आमाले छोरीको एसइइमै उत्कृष्ट नतिजा हेर्न चाहनुभएको थियो, एसइइमा राम्रो नतिजा आएपनि सोचेजस्तो नतिजा नआएकोमा बर्खाले कक्षा १२ को नतिजाबाट आमालाई खुसी बनाउने भन्दै निरन्तर मेहनत गरी पढ्ने गरेको विद्यालयका शिक्षकहरुको भनाई छ।
सर्वोत्कृष्ट नतिजा ल्याएकी बर्खाले विद्यालयमा आयोजना हुने कार्यक्रममा मात्रै नभई अन्य संघसंस्थाहरूको मञ्चमा समेत उद्घोषकको रुपमा उपस्थित हुने गरेकी थिइन् ।पाठ्यपुस्तकसँगै अन्य स्रोतहरूको खोजी गर्ने बर्खाको अनुसन्धानात्मक शैली, निरन्तर अभ्यासका कारण नतिजा उत्कृष्ट आएको विद्यालयले जनाएको छ ।
बिबिए अध्ययन गर्ने योजना बनाएकी बर्खााले मेहनती आमाको सपना साकार भएको भन्दै विद्यालयका शिक्षकसँग समेत बताएकी थिइन् । बुधबार विद्यालयले बर्खालाई नगद १० हजार सहित सम्मान गरेको छ । सोही अवसरमा उत्र्तिणा विद्यार्थी सहित अभिभावलाई समेत सम्मान गरिएको छ । यसबर्षको एसइइ परीक्षामा समेत न्यू वेस्ट पोइन्ट आवासीय माविले ४ जिपिए सहित जिल्लामै उत्कृष्ट नतिजा ल्याएको थियो ।