बेनी नगरपालिका–८,कालिपुल बसपार्कको एक रेष्टुरेन्टबाट नक्कली नेपाली नोट सहित एक यूवा पक्राउ परेका छन् । कमला नगरपालिका–६,धनुषाका ३८ बर्षिय सुन्दर महराको साथबाट १ हजार र ५ सय रुपैयाँको नक्कली नोट बरामत भएको छ ।
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि हिडेका महराले रेष्टुरेन्टमाखाना खाएपछि नक्कली नोट दिएका थिए । सवारीचालक अभियुक्तलाई कालिपुलको रेष्टुरेन्टमा खाना खाएर मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुगेर फर्किने बेलामा कालिपुल बसपार्कबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताउनुभयो ।
’भीडभाडमा यस्ता नोटहरुको कारोबार हुनसक्छ, संका लागेमा पानीमा झिजाएपछि नक्कली वा सक्कली पहिचान सजिलै हुन्छ‘ प्रनाउ थापाले बेनीअनलाइनलाई भन्नुभयो । म्याग्दीमा यसअगाडी नक्कली नोट भेटिएपनि प्रयोगकर्ताको पहिचान हुन सकेको थिएन् । प्रहरीले नियन्त्रणमा लिएका अभियुक्त महरालाई मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थपेको छ भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
झट्ट हेर्दा उस्तै देखिएपनि नक्कली नोट हेरेर र छामेर चिन्न सकिन्छ । सक्कली नोट नयाँ होस वा पुरानो छाम्दा खस्रो हुन्छ भने नक्कली नोट चिल्लो हुने भएकाले नोट हातमा पर्दा सुरूमा यही कुरा ख्याल गर्नुपर्ने सिटिजन्स बैंक बेनी शाखा प्रमुख सुमिन सुबेदीको भनाई छ। म्याग्दीका यसअगाडी पनि नक्कली नोट होटल, बेनी अस्पताल लगायत भिडभाड हुने क्षेत्रमा भेटिने गरेको थियो ।









