---Advertisement---

पुलहाश्रम-रावणपार्क क्षेत्रमा पत्रकार महासंघको पर्यटन प्रवद्र्धन कार्यक्रम, ११ बुँदे घोषणापत्र जारी (बुँदासहित)

On: August 7, 2025 8:58 AM
Follow Us:

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलवार पौलस्त्य–पुलहाश्रम–रावणपार्क क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।

पत्रकार महासंघ म्याग्दी शाखाको घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पौलस्त्य–पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्न नगरपालिकामार्फत आवश्यक पहल थालिएको बताउनुभयो । उहाँले विभिन्न धार्मिक ग्रन्थहरुको अध्ययन तथा तथ्यहरुको पहिचान गरी पुलहाश्रम क्षेत्रमा रावणपार्क बनाइएकाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पछै क्षेत्रमा रावणपार्क निर्माणसँगै अब पौलस्त्य पुलहाश्रम क्षेत्रको महत्व र विशेषतालाई उजागर गरी प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । बेनी नगरपालिका ५ नम्बर वडा पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले वडा कार्यालय, बेनी नगरपालिका र पर्यटन मन्त्रालयसँगको साझेदारीमा पछै क्षेत्रमा रावणपार्क निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याइएको जानकारी दिनुभयो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले महासंघमार्फत यसअघि सञ्चालित पर्यटन प्रवद्र्धन कार्यक्रमलाई वर्तमान कार्यसमितिले निरन्तरता दिएको बताउँदै ओझेलमा परेका जिल्लाको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुमा पुगेर प्रचारप्रसारमा जोड दिइने बताउनुभयो । पौलस्त्य पुलहाश्रम क्षेत्र विकास कोषका उपाध्यक्ष तेजप्रकाश बानियाँ र पुलाचौर आमा समूहका अध्यक्ष शान्ति शर्माले पुलहाश्रम–रावणपार्क क्षेत्रसम्म सहज आवतजावतको लागि सडकको स्तरोन्नति गर्नुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका सचिव ठाकुरप्रसाद आचार्यले पत्रकार महासंघ म्याग्दीले बनाएको ११ बुँदे पुलहाश्रम–रावणपार्क घोषणापत्र वाचन गरेर सुनाउनुभएको थियो । उक्त कार्यक्रममा स्थानीय पौलस्त्य आमा समूह र पुलाचौर आमा समूहले फुलमालासहित स्वागत गरेका थिए । घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम महासंघका अध्यक्ष गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सहसचिव तथा कार्यक्रमका संयोजक प्रताप बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रमबाट जारी पुलहाश्रम–रावणपार्क घोषणापत्र–२०८२ मा उल्लेखित बुँदाहरु यसप्रकार रहेका छन् । 

१. पौराणिक महत्व बोकेका गलेश्वरधाम–कपिलाश्रम–गुफाडाँडा–पुलहाश्रम–पुलाकोत–बरनाथ गुफा–घतानकोत–ढोलठान दरबार–जगन्नाथधाम–डढेकोत क्षेत्र हुँदै सिद्धआश्रम–टोड्के क्षेत्रलाई प्राचीन–धार्मिक करिडोर क्षेत्रको रुपमा विकास गर्न यो वैठक जोडदार रुपमा माग गर्दछ ।

२. म्याग्दीको बेनी नगरपालिका क्षेत्रको पुलाचौरमा रहेको प्रसिद्ध पौलस्त्य पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्नको लागि जिल्लास्थित विभिन्न सरोकारवालाहरुको ध्यानाकषर्ण गराउन यो वैठक माग गर्दछ ।

३. पुलाचौरको चनौटेदेखि पुलहाश्रम मन्दिर परिसरसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति गरी आवतजावतलाई सहज बनाउन वडा कार्यालय, बेनी नगरपालिकाको कार्यालय तथा प्रदेश एवं संघीय सरकारको गम्भीर ध्यानाकषण गराउँदछौं ।

४. म्याग्दीको बेनीबजारस्थित हुलाकेचोकदेखि अर्थुङ्गेको आँपारुखसम्म निर्माणाधीन अवस्थामा रहेको पर्यटन पदमार्गलाई चालु आर्थिक वर्षदेखि नै बजेटको स्रोत सुनिश्चितता गरी पुलहाश्रमसम्म पदमार्गले जोड्न जोडदार रुपमा माग गर्दछौं ।

५. पुलहाश्रम–घतानकोत–ढोलठान दरबार हुँदै पर्यटकीय क्षेत्र केभहिल–जगन्नाथधाम र डढेकोत दरबार क्षेत्रलाई पर्यटन पदयात्राको मार्गका रुपमा विकास गर्न सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

६. धार्मिक तथा पर्यटकीय क्षेत्र पुलाचौर तथा पुलाडाँडाको पर्यटन प्रवद्र्धन गर्नका लागि स्थानीयस्तरमा होमस्टे (घरबास) कार्यक्रम लागू गरी सञ्चालन गर्न जोडदार रुपमा माग गर्दछौं ।

७. धार्मिक क्षेत्र पौलस्त्य–पुलहाश्रम तथा रावणपार्क क्षेत्रको आवश्यक प्रचारप्रसार गरी स्वदेश तथा विदेशबाट समेत धार्मिक पर्यटकहरुको आवागमन बढाउन स्थानीयस्तरबाट समेत उचित पहल गर्न ध्यानाकर्षण गराउँदछौं ।

८. पौलस्त्य–पुलहाश्रम क्षेत्रमा आवश्यक पर्ने सबै खालका संरचनाहरु निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न धेरैभन्दा धेरै कार्यक्रमहरु आयोजना गर्ने र स्थानीय तथा सरोकारवालाहरुको समेत ध्यानाकर्षण गराउँदछौं ।

९. ऐतिहासिक रावणपार्क निर्माणमा पहल गर्ने सबैलाई धन्यवादज्ञापनसहित सँगसँगै पौलस्त्य, पुलस्त्य र विश्रवा ऋषिको समेत मूति स्थापना गर्न जोडदार रुपमा माग गर्दछौं ।

१०. माथि उल्लेखित धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको विकास तथा प्रवद्र्धन गर्नका लागि ती स्थानसम्म पुग्ने सडकको स्तरोन्नति गर्नुका साथै पैदलमार्ग समेत निर्माण गर्न माग गर्दछौं ।

११. घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन कार्यक्रममा सहभागी सबैलाई हार्दिक धन्यवादज्ञापन गर्दै पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गर्ने विभिन्न खालका कार्यक्रमहरुमा सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोगको अपेक्षा समेत गर्दछौं ।

धन्यवाद !

Leave a Comment