म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ। सडकखण्ड अन्तगत रघुगंगा गाउँपालिकाको उपल्लो बेसरी र अन्नपुर्ण गाउँपालिका–३ सुकेबगरमा पूर्णरुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
गएराती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द भएको प्रहरी नायब उपरीक्षक सुर्य थापाले बेनीअनलाइनलाई जानकारी दिनुभयो । हाल डोजरले अवरुद्ध पन्छाउने काम भइरहेको प्रनाउ थापाले बताउनुभयो ।
सडकखण्ड अन्तरगत विभिन्न स्थानमा ढुङ्गा खसेर सहज आवतजावतमा समस्या भइरहेको छ । सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आउने जाने सवारीसाधन बीच सडकमा रोकिएका छन्। अत्यावश्यक कामले गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन परिवर्तन गरेर यात्रा गर्न बाध्य छन्।
स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समस्या भएको छ । यसैबीच मुस्ताङखण्डमा समेत सामान्य पहिरो खसेको छ । अत्यावसेका बाहेक सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुरोध गरेको छ।