---Advertisement---

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

On: August 9, 2025 8:39 AM
Follow Us:

जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा शनिबार बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् ।


अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् । समुद्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको छन् ।

रघुगङ्गा गाउँपालिका–८ मा चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ । जिल्ला सदरमुकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ । पानीको तलाउनमा रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रूपमा रहेको छ ।


यसैबीच अन्नपूर्ण गाउँपालिका–८ नागीमा रहेको बराही मन्दिरमा समेत विहानैदेखि भिड लागेको छ । प्रतिकुल मौसमका बाबजुत म्याग्दीका शक्तीपीठमा पैदल तथा सवारीसाधनमा भक्तजनहरु पुगेका छन् । म्याग्दीको सदरमुकाम शिवालय मन्दिर, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान लगायत जिल्लाका विभिन्न शक्तीपीठमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले पूजाआजा र भाकल गर्ने चलन छ ।

Leave a Comment