बागलुङमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा साताव्यापी कार्यक्रम हुने भएको छ ।नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन गण्डकी)को आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
इस्कोन बागलुङले साउन २५ गतेदेखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरेर जन्माष्टमी मनाउन लागेको पत्रकार सम्मेलन मार्फत जनाएको हो ।
कृष्ण जन्माष्टमीको अवसरमा पहिलो दिन लक्ष्मीनारायण मन्दिर उद्घाटन, दोश्रो दिन इस्कोन कुश्मा, २७ गते इस्कोन बागलुङ, २८ गते इस्कोन म्याग्दीमा कार्यक्रम गरिने जनाइएको छ । त्यस्तै २९ गतेदेखि ३१ गतेसम्म भने बागलुङ नगरपालिका–१ को खुदुर्केमा रहेको लक्ष्मीनारायण मन्दिर तथा इस्कोन गण्डकी परियोजना स्थलमा जन्माष्टमी विशेष कार्यक्रम हुनेछन् ।
बागलुङ, पर्वत र म्याग्दीबाट छनौट भई फाइनल प्रवेश गरेका तीन जिल्लाका १२ वटा विद्यालयबीच आत्धात्मिक हाजिरीजवाफ प्रतियोगिता, महाहरिनाम संर्कीतन, कृष्ण प्रवचन, नाटक, नृत्य र ग्रन्थ प्रदर्शन, महाभिषेक, यज्ञ आदि कार्यक्रम रहेकोे इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युत दासले जानकारी दिए ।
विशेष पुजा, यज्ञ, राधाकृष्ण मुर्ती स्थापना र भवन उद्घाटन भएकोले कार्यक्रममा १० लाख खर्च लाग्ने बताइएको छ । त्यसका लागि इस्कोनका सदस्यहरुले दानचन्दा उठाउने छन् ।