जनैपूर्णिमाको अवसरमा पण्डित नवराज रिजालले अस्ट्रेलियाको सिड्नीमा रहेका हिन्दु धर्मालम्बीहरूलाई नाडीमा रक्षाबन्धन बाँध्नुभएको छ । सिड्नीमा म्याग्दी जलजला परिवार अस्ट्रेलियाका अध्यक्ष दिपेन्द्र भण्डारीले सञ्चालन गरेको डिभी मार्ट र स्ट्राथफिल्ड भेजी सेडमा तथा त्यहाँ रहेका म्याग्देलीलाई घरदैलोमा पुगेर समेत वैदिक विधिअनुसार रक्षबन्धन लगाइदिनुभएको थियो ।
विदेशमा रहेर पनि नेपाली संस्कृति र परम्पराको सम्बद्र्धन तथा प्रबद्र्धनमा् जुटिरहेको अवस्थामा पण्डित रिजालले रक्षाबन्धनको महत्वका बारेका जिज्ञासा राख्नेलाई समेत धार्मिक महत्वका बारेमा जानकारी सहित करिब २ सय जनालाई लगाइदिएको बताउनुभयो।

‘धेरैबर्षपछि रक्षाबन्धन मनाउनेहरु पनि भेटिनुभयो, मैले नियमित काम बाहेक धार्मिक कार्यलाई पनि निरन्तरता दिएको छु’ पण्डित रिजालले भन्नुभयो । सिड्नी क्षेत्रमा रहेका म्याग्देली सहित नेपालीलाई डिबी मार्टमा रक्षाबन्धन कार्यक्रममा विदेशीले समेत चासो देखाएको बताउनुभयो ।

सोही अवसरमा भारतीय र अन्य देशका हिन्दुहरुले समेत रक्षाबन्धन पर्वको प्रचारप्रसार गरेकोमा खुसी ब्यक्त गरेका थिए । नयाँ पुस्तालाई नेपाली धर्म र संस्कृतिका बारेमा ज्ञान बाँड्न सकियोस् र संगै नेपाली समुदायको मौलिक परम्परा तथा संस्कृतिको सम्बद्र्धन होस् भन्ने उद्देश्यले आफ्नो मार्ट अगाडी रक्षाबन्धन कार्यक्रम आयोजना गरिएको म्याग्दी जलजला परिवार अस्ट्रेलियाका अध्यक्ष दिपेन्द्र भण्डारीले बताउनुभयो ।
अष्ट्रेलियाको म्याग्दीबाट गएकाहरुले घरमा राख्ने मन्दिर, तुलसीको मठ, विवाह, व्रतबन्ध, न्वारान, क्रियाकर्म, घरपूजा, शिलान्यास, नवग्रह, जन्मोत्सव, श्राद्द लगायतका धार्मिक कार्यमा पण्डित रिजाललाई बेलाउने गर्छन् ।