---Advertisement---

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार : तीन सिफ्टमा सञ्चालन

On: August 11, 2025 12:00 PM
Follow Us:

म्याग्दीको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डायलाइसिस सेवाको अवधि बढाएको छ। यसअघि दैनिक दुई चरण (सिफ्ट) मा डायलाइसिस सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो।  

अस्पतालका प्रमुख चिकित्सक डा रविरञ्जन प्रधानले बिहान ७ बजेदेखि राति १० बजेसम्म डायलाइसिस सेवा दिन थालिएको जानकारी दिए। ‘यसअघि बिहान १० देखि राति १० बजेसम्म डायलाइसिस सेवा सञ्चालन गर्दा ३० जनाले सेवा लिने गरेका थिए,’ उनले भने, ‘सिफ्ट बढाएपछि हाल ३५ देखि ३७ जनाले डायलाइसिस गर्न पाएका छन्।’  

थप जनशक्ति र उपकरण व्यवस्थापन गरेर प्रतीक्षामा रहेका थप पाँच जना मिर्गौलाका बिरामीलाई जिल्लामै डायलाइसिस सेवा उपलब्ध गराउने प्रयासमा रहेको डा प्रधानले बताए। उनीहरू हाल डायलाइसिसका लागि बागलुङ, कुश्मा र पोखरा जाने गरेका छन्। डायलाइसिसका लागि पालो कुरेर बस्ने मिर्गौला रोगसम्बन्धी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य रहेको अस्पतालका प्रमुख डा प्रधानले बताए।  

विसं २०७७ देखि बेनी अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सञ्चालन भएको थियो। अस्पतालमा पाँच डायलाइसिस मेसिन छन्। बेनी अस्पतालले डायलाइसिस सेवा अवधि थप गरेपछि डायलाइसिसका लागि पोखरा, बागलुङ र कुश्माको अस्पतालमा जाँदा हुने समय र खर्चको बचत भएको छ। मिर्गौलाका बिरामीले हप्तामा कम्तीमा दुईदेखि बढीमा चार पटक डायलाइसिस गर्नुपर्छ।  

निजी अस्पतालमा एकपटक डायलाइसिस गराउँदा यातायात, खानाबस्नसहित गरी एक पटकमा रु आठ हजारभन्दा बढी खर्च हुन्छ। गण्डकी प्रदेशमा म्याग्दी धेरै मिर्गौला पीडित भएको जिल्लाको रूपमा समेत चिनिन्छ। अस्पतालको सम्पर्कमा करिब ४० मिर्गौलाका बिरामी छन्। रासस

Leave a Comment