मुस्ताङमा सडकमा गुडिरहेको बोलेरो जीपको टायर पड्किएर दुर्घटना हुँदा १८ जना लामा विद्यार्थी घाईते भएका छन् । क्षमताभन्दा बढी विद्यार्थी बोकेर जोमसोमतर्फ आइरहेको ग ३ च ६८६१ नम्बरको बोलेरो घरपझोङ गाउँपालिका–४,पुच्छार घाङमा सोमबार बिहान ९ बजे दुर्घटना भएको थियो । बोलेरोको टायर पड्किएर अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रहरी निरीक्षक विकास खत्रीले बताउनुभयो ।
दुर्घटनामा घाईते चालक पेम्बा शेर्पाको हात र खुट्टामा चोट लागेको छ भने पाकलिङ गुम्बामा अध्ययनरत विद्यार्थी जोमसोमस्थित हिमालयन चिल्ड्रेन होस्टलमा बस्ने लामा विद्यार्थीको समेत प्रादेशिक अस्पताल जोमसोममा उपचार भइरहेको छ । प्रहरी निरीक्षक खत्रीका अनुसार चालक र विद्यार्थी खतरामुक्त छन् । दुर्घटनाको कारण क्षमताभन्दा धेरै यात्रु बोकेको कारण भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
यसैबीच मुस्ताङको घरपझोङ गाउँपालिका–३,स्याङमा ट्याक्टर दुर्घटना हुदाँ ग १ त ७५०२ नम्बरका चालक बागलुङ निसीखोला गाउँपालिका–५ का ३० वर्षीय चालक शेरबहादुर घर्ती मगरको प्रादेशिक अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाईते गोरखा धार्चे गाउँपालिका–५ माछीखोला निवासी ६० वर्षीय आशबहादुर गुरुङको उपदार भइरहेको छ । घाईते गुरुङको दुबै हातमा चोट लागेको अवस्थामा हाल खतरामुक्त रहेको प्रादेशिक अस्पताल जोमसोमले जनाएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।