---Advertisement---

गलेश्वरमा साउन महिनाको सोमबार १६ लाखभन्दा बढी भेटी संकलन

On: August 12, 2025 10:35 PM
Follow Us:

म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालयमा मन्दिरमा साउन महिनामा १६ लाखभन्दा बढी संकलन भएको छ। साउन महिनाका सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरुबाट कुल १६ लाख ७४ हजार ९५३ रुपैयाँ भेटी संकलन गरिएको हो। यसवर्ष साउनको पहिलो सोमबार तीन लाख ९४ हजार ८२७, दोस्रो सोमबारमा तीन लाख ८४ हजार १३९, तेस्रो सोमबार ४ लाख ३८ हजार २८५ रुपैयाँ र चौथो सोमबार चार लाख ७७ हजार ६९३ रुपैयाँ गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताउनुभयो ।


यसवर्ष साउनमा परेका चार सोमाबारमा सबैभन्दा धेरै अन्तिम र सबभन्दा कम तेस्रो सोमबारमा भेटी संकलन भएको छ। गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौँ र बझाङ जिल्लाका साथै छिमेकी भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा फिजारिएर करिब साढे घण्टासम्म गनेर सार्वजनिक गरिएको कोषकी सदस्य गौमायाँ गर्बुजाले बताइन्। ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ।


दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ। भक्तजनबाट उठेको भेटीले मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी, स्वास्थ्य निकाय, र ज्येष्ठ नागरिकको व्यवस्थापन र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन गर्ने गरिएको छ। यसबर्ष तातोपानी कुण्ड ब्यवस्थापन समितिले आरतीमार्फत भक्तजनलाई आर्कषित गरेको थियो ।

पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ। सत्ययुगमा सतीदेवीले अग्निकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरीर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभइ स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

File photo

Leave a Comment