उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं ४ मा रहेको पवित्र तिर्थस्थल दामोकरकुण्डको दर्शन गर्न जाने नेपालीको संख्या बढ्न थालेको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर दामोदर कुण्डमा विभिन्न धार्मिक अभियानसँगै समुहमा दैनिकजसो स्वदेशी भक्तजनहरू पुग्ने गरेका छन् । समुन्द्री सतहबाट ४ हजार ८ सय ९० मिटर उचाइमा रहेको दामोदरकुण्डको पदमार्गमा घोडा र पैदलमार्ग हुदै पुग्ने भक्तजनहरू उत्साहजनक रुपमा बढेको वडा अध्यक्ष वडा अध्यक्ष झयाङ छेसा गुरूङको भनाई छ ।

वड अध्यक्ष गुरूङले भन्नुभयो,‘‘अहिले समुहमा आउनेमा यूवाहरू धेरै हुनुहुन्छ,यात्रामा बिरामी हुनेलाई उद्धारमा समेत समुदायको साथ रहेको छ ।’’ अर्धनिषेधित क्षेत्रमा पर्ने भएकाले भारतीय सहित तेस्रो देशका पर्यटकले १० दिनका लागि पाँच सय डलर तिरेर मात्रै प्रवेश अनुमति दिइने भएकाले दामोदर कुण्डमा जाने धेरै नेपाली हुने दामोदर कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष टासी गुरुङले बताउनुभयो ।

दामोदर कुण्डमा जाने स्वदेशी पर्यटकको तथ्याङ्क संकलन नगरिने भएपनि गत आर्थिक बर्ष २०८२÷०८३ मा झण्डै १० हजारको हाराहारीमा भक्तजनहरू पुगेको अनुमान गरिएको छ । हालै दामोदर कुण्डको दर्शन गरी फर्किनुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले तिर्थालुको स्वास्थ्यलाई मध्यनजर गरी धार्मिक सिजनमा पदमार्ग तथा धर्मशाला क्षेत्रमा स्वास्थ्यकर्मी सहित घुम्ती शिविरमार्फत स्वास्थ्य चेकजाँचको सुविधाका बारेमा समेत जिल्लास्थित सरोकारवाला निकायसँग समन्वय गर्नुभएको छ ।

प्रजिअ भुषालले भन्नुभयो,‘‘यहाँको सबैभन्दा ठूलो समस्या नै तिर्थयात्रुलाई लेक लाग्ने हो,हमीले तिर्थयात्रुको सुविधाका लागि आवश्यक संरचना तथा उपकरणहरुको ब्यवस्थापन गर्नुपर्छ।’’ दामोदर कुण्डमा बृद्धबृद्धा, दिर्घरोगीलाई समस्या हुने भएकाले लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङमा स्वास्थ्य परीक्षण गरी मात्रै माथिल्लो क्षेत्रमा जाने वातावरण बनाउन सकेमा बर्षेनी लेक लागेर मृत्यु हुने तिर्थयात्रीको संख्या घट्ने प्रजिअ भुषालको भनाई छ ।

गत साउन पहिलो साता दामोदर कुण्डमा पुगेर फर्किनुभएका जिल्ला अदालत म्याग्दीका माननीय न्यायाधीश प्रकाशप्रसाद पण्डितले लेक लाग्ने समस्याका तिर्थालुलाई तत्काल उपचारका लागि स्वास्थ्य उपचार केन्द्रको आवश्यकता रहेको बताउनुभयो । साउन महिनामा समेत देनिक तिर्थालु दामोदर कुण्डमा जाने गरेका छन् । दामोदर कुण्डमा नेपाली तिर्थयात्री धेरै जान्छन भने त्यसपछि दोस्रोमा भारतीय हुने गरेको दामोदरकुण्ड समितिले अध्यक्ष टासी गुरुङले बताउनुभयो ।

दामोदर कुण्डमा जाने तिर्थयात्री तथा पर्यटकलाई सहज हुने गरी प्रहरी चौकी सुर्खाङले समेत पदमार्ग तथा धर्मशाला, कुण्ड क्षेत्रमा आवश्यक गस्ती सहित सुरक्षामा सघाउने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक बिशाल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘गएको बर्ष दुई जना तिर्थयात्रुको ज्यान गयो, हामीले पदमार्गस्थलमै जटिल समस्या भएकालाई यात्रा नगर्न अनुरोध गर्ने गरेका छौ ।’’ यस क्षेत्रमा जाने नेपाली तिर्थयात्रीलाई जोमसोम, बागबेनी, छुसाङ सहितका क्षेत्रमा रहेका प्रहरी यूनिटले समेत लेक लाग्ने समस्याका बारेमा सचेतनामुलक जानकारी दिने गरेको छ ।

कालिगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङ सम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारी साधनको यात्रापछि यारा गाउँबाट पैदलयात्रा गर्ने यारा गाउँ देखि माथि झुमा ठाटी सम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजनहरू याराबाट नै घोडाको यात्रा गर्दछन् ।
याराबाट ५ घण्टा घोडा र करिब पाँच घण्टा नै पैदल यात्रापछि दामोदर कुण्ड पुग्न सकिन्छ । सडक यातायात,सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदर कुण्डको यात्रा भने कठिन पूर्ण छ । कुण्डमा पुगेका भक्तजनहरूको सुविधाका लागि पालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ । हरेक बर्ष असार देखि साउन महिना सम्म धर्मशालामा निःशुल्क भोजनको पनि व्यवस्था मिलाइएको हुन्छ ।
जोमसोम–कोरला सडकखण्ड अन्तरगत घिमीठाँटीसम्म सडक सञ्जाल र त्यहाँबाट पैदल तथा घोडामा दामोदरकुण्ड पुगेर दर्शन गरी फर्किने गरिएको छ। घोडामा दामोदर कुण्ड पुग्नेले प्रति ब्यक्ति १० हजार तिर्नुपर्छ । याराघाराका बासिन्दाले घोडामार्फत भक्तजनलाई सेवा दिएबापत मनग्य आम्दानी गर्ने गरेका छन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिका, दामोदर कुण्ड समितिले सञ्चालन गरेको धर्मशालामा निशुल्क भोजन सहित रात विताउन पाइन्छ ।
एकरातमा करिब १ सय भक्तजनहरू बस्न मिल्ने गरी धर्मशाला बनाइएको छ । दामोदर कुण्डलाई मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान मानिन्छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुबेदीका अनुसार कुबेरका छोराहरुले दामोदरकुण्डमा स्नान गरी पाप पखालेको धार्मिक मान्यता रहेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला पाइने भएकाले यस क्षेत्रबाट घरमा रहेको मन्दिरमा राख्ने गरी शालिग्राम तथा जल लिएर आउने गरिन्छ । दामोदरकुण्डमा ३ वटा जलाशय चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड छन्। यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड। जहाँ चक्र कुण्ड र दूधकुण्ड एक स्थानमा पर्छ भने तामा कुण्ड करिव १ सय मिटर टाढा छ ।