मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आर्थिक आय व्यय आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । गत वर्ष संघको आयोजनामा ५१ औं संस्करणको मार्फा केन्द्रमा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रममा भएको सम्पूर्ण आय व्यय संघ र सम्पूर्ण क्लवका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो ।
संघका सचिव विष्णु थकालीले प्रस्तुत गर्नुभएको आय व्ययमा गत वर्षको सम्पूर्ण खर्च कटाई हाल संघमा जम्मा मौज्याद ४७ लाख ५८ हजार ६७६ रुपैयाँ छ भने अक्षयकोष बाहेक ११ लाख ४१ हजार ६७६ रुपैयाँ नगद रहेको थकालीले बताउनुभयो । मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित प्रमुख पर्यटकीय स्थल मार्फा केन्द्रमा गत वर्ष असोज ५ गतेदेखि ७ गतेसम्म आयोजना भएको उक्त कार्यक्रममा खेलकुद, साँस्कृतिक, मनोरञ्जनका साथै विविध कार्यक्रमको आयोजना भएको थियो । यस कार्यक्रम आयोजनाको लागि भनेर देश विदेशमा रहेका सम्पूर्ण महानुभावहरुले सहयोग गर्नूभएको हो ।

जसका लागि आजीवन सदस्यहरु, जिल्ला स्थित सरकारी कार्यालय, वित्तीय संस्था, विभिन्न उद्योगी÷व्यवसायी प्रायोजकहरु, संघले आयोजना गरेको विविधि साँस्कृतिक कार्यक्रम र सहभागी क्लबहरुबाट गरि जम्मा ५९ लाख ९२ हजार ७८५ रुपैयाँ कुल आम्दानी भएको थियो । जसमध्ये आजीवन सदस्यहरुबाट ३६ लाख १६ हजार, सरकारी कार्यालयहरुबाट ९ लाख ७ हजार २७५, वित्तीय संस्थाबा ५० हजार, विभिन्न प्रायोजकहरुबाट ७ लाख ७९ हजार ८००, विविध साँस्कृतिक कार्यक्रमबाट ५ लाख ३१ हजार ७१० र सहभागी क्लबहरुबाट ९० हजार रुपैयाँ प्राप्त भएको हो ।
यसैगरि विभिन्न शीर्षकमा २७ लाख ४३ हजार ५४० रुपैयाँ खर्च भएको छ । उक्त खर्चहरुमा पुरुष भलिबलको लागि प्रथम, द्वितीय र उत्कृष्ट खेलाडीलाई २ लाख ५५ हजार रुपैयाँ, महिला भलिबलको लागि प्रथम र द्वितीय गरि १ लाख ७५ हजार रुपैयाँ, साधा तारा खेल प्रथम, द्वितीय र उत्कृष्ट धनुर्धर गरि ९० हजार रुपैयाँ, आधुनिक (आर्चरी) खेलको लागि प्रथम, द्वितीय र उत्कृष्ट धनुर्धर गरि ९० हजार रुपैयाँ, साँस्कृतिक तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, उत्कृष्ट नृत्यकार (केटा र केटी) र उत्कृष्ट थकाली गीत रचनाकार गरि ८४ हजार रुपैयाँ सहित अन्य विविध महत्वपूर्ण कार्यका शिर्षकहरुमा गरि जम्मा २७ लाख ४३ हजार ५४० रुपैयाँ खर्च भएको संघका सचिव विष्णु थकालीले बताउनुभयो ।
यसैगरी गत वर्ष पोखरामा पौष १५ गतेदेखि फागुन १५ गतेसम्म मुस्ताङ स्थित विभिन्न क्लबका १२ जना खेलाडीहरुलाई संघले ट्रेनिङको व्यवस्था गरेको उहाँले बताउनुभयो, उहाँले भन्नुभयो– “उक्त दुई महिनाको ट्रेनिङमा संघको तर्फबाट करिब ४ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ ।” सचिव थकालीको अनुसार विभिन्न क्लबका इच्छुक खेलाडीहरुको खेललाई थप मजबुत र हौसला प्रदान गर्नको लागि मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघले उनीहरुलाई पोखरामा दुई महिनासम्म आवश्यक टे«निङको व्यवस्था गरेको हो ।
यसैबिच संघका अध्यक्ष कृष्णकुमार शेरचनले मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघले आयोजना गरेको ५१ औं संस्करण सफल पार्नको निमित्त सहयोग गर्नुहुने सबैलाई धन्यवाद एवम् आभार व्यक्त गर्नुभयो । यसैगरी आगामी दिनहरुमा पनि सबैको साथ, सहयोग, सद्भाव, माया र उत्प्रेरणाको अपेक्षा रहेको शेरचनले बताउनुभयो, उहाँले भन्नुभयो– “जुनसुकै कार्य गर्दा सबैको साथ र सहयोग आवश्यक पर्दछ, हामीले थालेको स्वच्छ प्रतिस्पर्धाको बाटोमा सबैले साथ दिए आगामी यात्रा झनै राम्रो बन्नेछ ।” अध्यक्ष शेरचनका अनुसार संघको आगामी ५२ औं संस्करण यहि आउदो असोज ९ गतेदेखि ११ गतेसम्म मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा हुनेछ ।