म्याग्दीको मंगला गाउँपालिका-१,पैयुपाटाकी पाठेघरको क्यान्सरबाट ग्रसित ६३ वर्षिया चमेली सार्कीको सामाजिक सुरक्षा भत्ता परिचयपत्रको घरमै नविकरण भयो । पाठेघरको क्यान्सरबाट ग्रसित सार्कीले पाउने जेष्ठ नागरिक दलित भत्ताका लागि सामाजिक परिचालक ज्ञानेन्द्र किसान घरमै पुग्नुभयो । ओछ्यानमा आराम गर्नुभएकी सार्कीको आगनमै ल्यापटप राखेर सामाजिक परिचालक किसानले बायोमेट्रिक लिनुभयो ।

बिरामी भएकै कारण घर आसपासमा बाहेक बाहिर जान नसक्ने अवस्थामा रहनुभएकी सार्कीलाई वडा कार्यालयसम्म लैजान समेत सकस थियो । वडा अध्यक्ष एकजित रोका सहितको टोलीले थाइबाङका ७० बर्षिय वर्ण सिङ पुन, रनप्रसाद भट्टचन,रेवती रुन्तिजा, मजुवाका ज्ञान बहादुर खत्रीको घरमै पुगेर परिचयपत्रको नविकरण गर्नुभएको हो ।

कष्ट, झन्झट र दुःख झेल्नुपर्ने लाभग्राहीको घरदैलोमै पुगेर सेवा दिएको वडा अध्यक्ष रोकाले बताउनुभयो । वडाको घुम्ती टोलीले भर्जुलामा ४३ जना, थाइवाङ ४६ जनालाई सेवा दिइएको र हिड्न नसक्न्नेहरुलाई घरमै पुगेर सेवा दिने कार्यक्रम निरन्तर रहेको वडा अध्यक्ष रोकाले बताउनुभयो ।

वडाबाट जिल्ला बाहिर बसोबास गर्र्नेहरुलाई समेत पायक पर्ने स्थानमा बोलाएर सेवा दिने योजना रहेको छ। वडाम कुल ६ सय ७४ जना जेष्ठ नागरिक, अशक्त र असहायहरु रहेकोमा समस्यमा परेकालाई आवश्यक परेमा अन्य सेवाहरु पनि घरदैलोमै दिने वडा अध्यक्ष रोकाले बताउनुभयो । ‘‘गाउँमै पुगेर सेवा दिदाँ बृद्धबृद्धालाई स्थानीय सरकारको अनुभुती भएको छ’’ वडा अध्यक्ष रोकाले भन्नुभयो । वडाका जनप्रतिनिधि सहित गाउँपालिकाको टोलीले समेत घरदैलो नजिकै आएर सेवा दिएपछि बृद्धबृद्धा उत्साहित हुनुहुन्छ ।
