वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत हिन्दु तथा बौद्धमार्गीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्य द्वारबाहिर एकाबिहानै पुजारी कृष्णप्रसाद सुवेदी भेटिनुहुन्छ । आसपासका क्षेत्रमा हिउँले ढाकिएका हिमालको पूर्वपट्टिको भित्तामा समुद्र सतहदेखि तीन हजार ६१० मिटरको उचाइमा अवस्थित मन्दिरमा आउने दर्शनार्थीलाई दैनिक मुक्तिनाथ मन्दिरको महिमा सुनाउनुहुन्छ ।
पहिलो पटक मुक्तिनाथ मन्दिरको दर्शन गर्न आएको जानकारी पाएमा नेपाली तथा विदेशी हिन्दु, बौद्धमार्गीलाई यस क्षेत्रलाई समय दिएर घुम्न अनुरोध गर्नुहुन्छ । २०५४ साल जेठ १५ गते म्याग्दीको साबिकको पिप्ले गाविस हाल रघुगङ्गा गाउँपालिका–३ बाट पैदलयात्रा गरी मुक्तिनाथ पुग्नुभएका पुजारी सुवेदी २८ वर्षभन्दा बढी समयदेखि पुजारीका रूपमा मुक्तिनाथ मन्दिरमा कार्यरत हुनुहुन्छ ।
मन्दिरभित्र बौद्धमार्गी भुमा र बाहिरपट्टि हिन्दुहरूका तर्फबाट पुजारी सुवेदीले टीका लगाएर प्रसाद दिनुहुन्छ । २८ वर्षदेखि कठ्याङ्ग्रिँदो जाडोमा पनि भक्तजनको सेवामा भेटिनुहुने पुजारी सुवेदी र झुमाको समन्वय र सहकार्यमा दर्शनार्थीलाई सहज भएको छ । मुक्तिनाथको मूर्तिसहित मन्दिरभित्र चढाएको भेटी, अन्य वस्तु तथा संरक्षणको जिम्मा झुमाले लिनुहुन्छ भने टीका लगाएर दिएको दक्षिणासहितको उपहारबाट पुजारी सुवेदीले आफ्नो जीवन निर्वाह गर्नुभएको छ । तत्कालीन समयमा मन्दिरमा प्रवेश गर्दा भक्तजनले दिएको भेटीबाट समेत नपुग्ने अवस्थामा घरबाट खाद्यान्न मगाएरसमेत आफ्नो भोजन गर्ने गरेको अनुभव उहाँले सुनाउनुभयो ।
पुजारी सुवेदी भन्नुहुन्छ, “बिरामी हुँदा पनि भक्तजनको सेवामै धेरै दिन बिताएको छु, यो पवित्र क्षेत्रमा प्रवेश गरेको करिब तीन दशक पुग्न लाग्यो, अति आवश्यक कामबाहेक मुक्तिनाथ क्षेत्र छोडेको छैन ।” तत्कालीन राज्य र विद्रोहीबिचको युद्धकालीन अवस्थामा निकै कम भक्तजन मुक्तिनाथ आउने गरेको स्मरण गर्दै उहाँले दैनिक ५० देखि एक लाख जति भक्तजनलाई सेवा दिएको बताउनुभयो । पुजारी सुवेदी भन्नुहुन्छ, “यहाँ विश्वभरबाट भक्तजन आउनुहुन्छ । भारतीय प्रधानमन्त्रीको आगमनपछि भारतीय हिन्दु धर्मावलम्बीको सङ्ख्या ह्वात्तै बढेको छ ।”
मुक्तिनाथ मन्दिरलाई हिन्दुहरूले मुक्तिक्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी) भन्छन् । हिन्दु र बौद्ध धर्मावलम्बीले साझा रूपमा पूजा गर्ने मुक्तिनाथ मन्दिर विश्वकै लागि एउटा एकता र सहकार्यको सन्देश भएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता प्रमेश गुरुङको भनाइ छ ।
हिन्दु धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योग रूप यज्ञ गरेको इतिहास छ । बौद्धमार्गी तिब्बतबाट बौद्धमार्गी पण्डित कैलाश पर्वत दर्शन गर्न गएको र कैलाशको जल लिएर मुक्तिनाथमा सञ्चय गरी १०८ धारा बनाइएको बताइन्छ । मुक्तिनाथ मन्दिरपरिसरमा नरसिंह गुम्बा छ । गुम्बाभित्र गुरु पद्मसम्भवको मूर्ति छ । पद्मसम्भव हिमाली भेगमा बौद्ध धर्म फैलाउने गुरु मानिन्छन् । यसबाहेक मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा समुद्री सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइमा अवस्थित धार्मिक स्थल दामोदरकुण्डसमेत हिन्दु र बौद्धमार्गीका साझा तीर्थस्थल भएको पुजारी सुवेदीको भनाइ छ ।