---Advertisement---

म्याग्दीमा गत वर्ष ३० हजार बढी पर्यटकहरू भित्रिए

By प्रताप बानियाँ
On: August 17, 2025 7:53 PM
Follow Us:

 एक वर्षको अवधिमा हिमाली जिल्ला म्याग्दीको ३० हजारभन्दा बढी पर्यटकहरूले भ्रमण गरेका छन् । गएको आर्थिक वर्ष २०८१÷०८२ मा कुल ३० हजार ८ सय ६५ जना विदेशी पर्यटकहरूले जिल्लाको भ्रमण गरेका हुन् । अघिल्लो आव ०८०÷८१ मा भने ३१ हजार ३ सय ५४ जना विदेशी पर्यटकहरूले म्याग्दी जिल्लाको भ्रमण गरेका थिए ।

गत वर्ष म्याग्दीको भ्रमणमा २३ हजार ८ सय ६९ जना पर्यटकहरू भित्रिएका छन् भने ६ हजार ९ सय ९७ जना पर्यटकले भ्रमण गरेर बाहिरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी कार्यालयका अनुसार गतभन्दा अघिल्लो आवमा भने २५ हजार ३ सय ३४ जना विदेशी पर्यटकहरू भित्रिएकोमा ६ हजार २० जना पर्यटकहरू जिल्लाको भ्रमण सकेर बाहिरिएका थिए ।

गत वर्ष जिल्ला भित्रिने पुरुष पर्यटकहरू १२ हजार ३ सय ९६ र महिला ११ हजार ४ सय ७२ जना रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । यसै गरी भ्रमण सकेर बाहिरिनेमा पुरुष पर्यटक ३६ सय २१ र महिला ३३ सय ७६ जना रहेको तथ्याङ्क छ । म्याग्दीको भ्रमणका लागि भित्रिएका र बाहिरिएका कुल पर्यटकको सङ्ख्यामध्ये पुरुष १६ हजार १७ जना रहेका छन् भने महिलातर्फ १४ हजार ८ सय ४८ जना पर्यटकहरू रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

गत वर्ष सबैभन्दा धेरै कात्तिक महिनामा ५ हजार ८ सय १३ जना र सबैभन्दा कम असार महिनामा ४ सय ८३ जना विदेशी पर्यटकहरूले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले राखेको तथ्याङ्कमा उल्लेख गरिएको छ । म्याग्दी जिल्लाको भ्रमण गर्न अफ्रिका, अमेरिका, अस्ट्रेलिया, बहराइन, बेल्जियम, ब्राजिल, बेलायत, चिली, चाइना, रसिया, कोलम्बिया, डेनमार्क, फिनल्यान्ड, जापान, फ्रान्ससहित विदेशका विभिन्न मुलुकहरूबाट पर्यटकहरू आएको तथ्याङ्क छ । म्याग्दीको भ्रमणमा अधिकांश पर्यटकहरू कास्कीको घान्द्रुकबाट पुन हिल, घोरे पानी तथा ढोरपाटन सिकार आरक्षबाट पश्चिम म्याग्दी भएर तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत आवतजावत गर्ने गर्दछन् ।

पर्यटकहरू कम आउनुमा खास गरी आर्थिक मन्दी मुख्य रहेको छ भने प्रतिकुल मौसम र सरकारले ल्याउने पर्यटकलक्षित नीतिहरूको कारणले पनि पर्यटक घटेको अनुमान गरिएको छ । तर कोरोना र लकडाउनपछि पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्लो समय म्याग्दी जिल्लामा भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्यामा भने क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । म्याग्दीको भ्रमण गर्न आउने पर्यटकहरू अधिकांश सडक मार्ग भएर आउने गर्दछन् । पर्वतको माल ढुङ्गा हुँदै बेनी, पश्चिमी क्षेत्र दर वाङ, उत्तरी भुरुङ–तातोपानी नाका र मुस्ताङबाट म्याग्दीको भ्रमणमा पर्यटकहरू आउँछन् ।

यसै गरी कतिपय पर्यटकहरू ट्रेकिङ एजेन्सीमार्फत सिधै हवाई–मार्ग भएर पनि जिल्लाको भ्रमणमा आउने गरेका छन् भने हिमालपारिको जिल्ला मनाङ हुँदै मुस्ताङ भएर पनि पर्यटकहरू म्याग्दी जिल्लामा भित्रिने गर्दछन् । होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय सचिव एवं होटल याक बेनी प्रालिका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम)ले कोभिडपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढेको बताउनुभयो । उहाँले म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरूको बसाई लम्ब्याउनको लागि आवश्यक भौतिक पूर्वाधारहरूको निर्माण गर्नुका साथै नीतिगत सुधार गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थल र क्षेत्रहरूको विदेशी पर्यटकहरूले भ्रमण गर्ने गरेका छन् । म्याग्दीको भ्रमणमा आउने अधिकांश पर्यटकहरू घोरे पानी, पुन हिल, फूलबारी, महरेडाँडा, खोप्रालेक, रुप्से तथा नारच्याङ झरना, संसारकै गहिरो अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ गर्न, धौलागिरि, अन्नपूर्ण र गूर्जा हिमालको आरोहण गर्नका लागि आउने गरेको पाइन्छ । त्यस्तै सिङ्गा, भुरुङ–तातोपानी, पाउद्वारलगायत स्थानमा रहेका तातोपानीका कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, धार्मिक क्षेत्र गलेश्वरधाम, पौलस्त्य पुलहाश्रम, जगन्नाथधाम, केभहिल, स्वर्गाश्रम एवं मालिका मन्दिर, ताकम कोतलगायत क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट देखिने मनोरम दृश्यावलोकन गर्नका लागि पर्यटकहरू आउने गरेका छन् ।

म्याग्दीमा रहेका विभिन्न ताल र झरनामा पनि पर्यटकहरू पुगेर रमाउने गर्छन् । पछिल्लो समय नेपालीहरूमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएपछि विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकहरू धेरै घुम्ने गरेका छन् । तर विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरिए पनि स्वदेशी पर्यटकहरूको भने तथ्याङ्क राखिएको छैन । म्याग्दीको भ्रमणमा समेत विदेशीको तुलनामा स्वदेशी पर्यटक धेरै आउने गरेको पर्यटन व्यवसायी बताउँछन् । खर्चको हिसाबले पनि विदेशीले भन्दा स्वदेशी पर्यटकहरूले नै धेरै खर्च गर्दछन् ।

कुन महिनामा कति पर्यटक ? (आ.व. ०८१÷८२)
महिना               पर्यटक सङ्ख्या
साउन:               ८३४
भदौ:                 ८७४
असोज:             ४०२९
कात्तिक:            ५८१३
मंसिरः               ३४१४
पुस:                  १६७४
माघ:                १६७५
फागुन:             २३०४
चैत:                 ५४८७
बैशाखः             २८३५
जेठ:                १४४३
असार:             ४८३
जम्मा:             ३०,८६५
भित्रिएका:        २३,८६८
बाहिरिएका:     ६,९९७
स्रोत: जिल्ला प्रहरी कार्यालय, म्याग्दी ।

प्रताप बानियाँ

Leave a Comment