म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको पुलाडाँडास्थित पछैमा रहेको धार्मिक पर्यटकीयस्थल पौलस्त्य पुलहाश्रम क्षेत्र धार्मिक पर्यटनको गन्तव्य बन्दै जान थालेको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकमा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र पछिल्लो समय धार्मिक पर्यटन आकर्षणको केन्द्र बनेको हो ।

संघ सरकार तथा बेनी नगरपालिकाको साझेदारीमा पुलहाश्रम क्षेत्रमा रावण–पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । पुलहाश्रम पौराणिक स्थल पनि हो । यस क्षेत्रलाई पुलस्त्य र पुलह ऋषिको तपोभूमिको रुपमा मानिन्छ । पुलहाश्रम क्षेत्रबाट संसारको सातौ अग्लो चुचुरो धौलागिरि, दशौं अग्लो चुचुरो अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रेलगायत मनोरम हिमश्रृङ्खलाको आकर्षक दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

पौलस्त्य पुलहाश्रम सदरमुकाम बेनीदेखि पश्चिम–उत्तरमा समुन्द्री सतहबाट १ हजार ५ सय ३० मिटरको उचाइमा पर्दछ । यहाँ पुलह, पुलस्त्य, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता रहेको छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको श्रीमद्भागवत् महापुराणको पञ्चमस्कन्धको आठौं अध्यायमा उल्लेख गरिएको पाइन्छ । यस ठाउँमा उनै ऋषिहरुले त्रेतायुगमा हवन गरेका चरु आजपर्यन्त पनि भेटिन्छन् । पौलस्त्य पुलहाश्रम क्षेत्रको दर्शन गर्न जानेहरु तिनै चरुको खोजी गरी निधारमा टिका लगाउने गर्दछन् ।

बेनीबजारबाट सवारीसाधनमा ३० मिनेटको यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी–अर्थुङ्गे–बाँसबोट–एकपाटे हुँदै पुरुण्डीसम्मको सडक गतवर्ष कालोपत्रे र ढलान भएको छ । पुरुण्डीबाट करिब दुई किलोमिटर कच्ची सडकको यात्रा गरेपछि पुलहाश्रम क्षेत्रमा पुग्न सकिन्छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले बेनी नगरपालिकाले पुलहाश्रम नजिकै रावण–पार्क निर्माण गरेको छ । प्रसिद्ध गलेश्वरधाम शिवालय र कपिलाश्रमदेखि नजिकमा पर्ने पुलस्त्य पुलह क्षेत्रमा भारतीय हिन्दु पर्यटकलाई आकर्षित गर्न सकेमा यहाँ वर्षेनी हजारौंको सङ्ख्यामा पर्यटकहरु भिœयाउन सकिने सम्भावना समेत देखिन्छ ।

पौलस्त्य पुलहाश्रम क्षेत्रमा आगामी दिनमा पुलस्त्य र पुलह ऋषिको समेत मूर्ति बनाउने तथा ऋषिपार्क निर्माण गर्ने योजना रहेको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले बताउनुभयो । ऐतिहासिक र धार्मिक महत्वको पौलस्त्य पुलहाश्रम क्षेत्रमा सहज रूपमा आवतजावतका लागि सडक विस्तार तथा स्तरोन्नतिलगायत पूर्वाधार विकासमा बेनी नगरपालिकामार्फत जोड दिइएको उहाँले जानकारी दिनुभयो । पौलस्त्य पुलहाश्रम क्षेत्र बेनी नगरपालिकाभित्र रहेका धार्मिक स्थलहरुमध्ये एक र प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको छ ।

पुलस्त्य पुलह क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँले पौलस्त्य–पुलहाश्रम क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि झण्डै ३० करोड रुपैयाँ बराबरको लागत अनुमान गरी डिपिआर बनाएर आवश्यक पूर्वाधारहरु बनाउन बेनी नगरपालिका, गण्डकी प्रदेश र सङ्घीय सरकारमा अनुरोध गरिएको बताउनुभयो । धार्मिक पर्यटनको प्रबल सम्भावना बोकेको पुलहाश्रम क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि आवश्यक संरचनाहरु निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् ।

रामायण कथामा ‘खल’पात्रको रुपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दुहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत् महापुराणमा उल्लेख गरिएका विश्वका अति पवित्र १५ वटा धार्मिक तीर्थस्थलमध्य म्याग्दीको पौलस्त्य पुलहाश्रम पनि एक हो । श्रीमद्भागवत महापुराणमा कुरुक्षेत्र, गया, प्रयाग, पुलस्त्य–पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभाष, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दुसरोवर र सीताराम आश्रमलाई पवित्र तीर्थस्थलको रुपमा उल्लेख गरिएको छ ।

पुराण प्रसिद्ध तीन ऋषिहरु पुलह, पुलस्त्य र विश्रवा म्याग्दीको पुलाचौरस्थित पछैमा अध्ययन तथा चिन्तनमनन् गर्दै बसेको पुराणमा उल्लेख छ । पुराणका अनुसार ऋषि पुलहका नाति विश्रवा ऋषिका छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा भएको थियो । उनी जन्मेपछि हुर्के, बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणमा उल्लेख छ । पछि रावणले मुस्ताङ थाकखोलाका थकालीकी छोरी ‘मन्दोदरी’लाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको जानकारहरु बताउँछन् ।

पौलस्त्य पुलहाश्रम मन्दिरबाट सदरमुकाम बेनीबजार, लभ्लीहिल, पर्वतको मल्लाज क्षेत्र, मिलनचोक बजार, माछापुच्छ«े, अन्नपूर्ण, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । पौलस्त्य मन्दिरमा दैनिक रुपमा पुजाआजा हुँदै आएको छ । पछिल्लो समय यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको छ । धार्मिक पर्यटनको क्षेत्रका रुपमा पौलस्त्य पुलहाश्रमको विकास गरी अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ ।


