निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । रघुगंगा गाउँपालिका वडा नं ४ दग्ना र वडा नं ५ झिँको सिमानामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा एक्कासी खसेको सुख्खा पहिरोमा परेर ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्य थापाले बेनीअनलाइनलाई बताउनुभयो ।
पहिरोमा मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार रहेको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । घटनास्थलमा पिप्ले प्रहरी चौकीबाट टोली पुगिसकेको पौडेलले बताउनुभयो । पहिरोमा घाईते भएकाहरुको उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको छ । मृतकको नाम खुलेपनि ठेगाना र घाईतेको विवरण आउन बाँकी छ ।
घटनास्थलमा प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । ‘घटनास्थलतर्फ जादैंछु, हाम्रो एउटा टोली पुगिसकेको छ’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउने क्रममा समेत यस अगाडी बाँध पहिराको जोखिममा परेको थियो ।