निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा खसेको सुख्खा पहिरोमा ज्यान गुमाएका दुई मजदुरको पहिचान खुलेको छ । रघुगंगा गाउँपालिका वडा नं ४ दग्ना र वडा नं ५ झिँको सिमानामा सोमबार दिउँसो एक्कासी खसेको पहिरोमा ज्यान गुमाउनेमा बागलुङको तमानखोला गाउँपालिका–१ का २२ बर्षिय सुजन बुढामगर र चितवन घर भएका अन्दाजी ४६ बर्षिय लालबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।
सुख्खा पहिरोमा घाईते हुनेको विवरण खुलेको छैन् । घाईतेलाई उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको छ । घटनास्थलमा पिप्ले प्रहरी चौकीको टोली पुगिसकेको छ भने जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट टोली खटिएको प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताउनुभयो ।
पहिरोस्थल आसपासका क्षेत्रबाट मजदुरलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले घाईतेको उद्धार तथा थप दुर्घटना हुन नदिने गरी योजना बनाइएको छ ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा एक्कासी पहिरो खसेको प्रारम्भीक जानकारी रहेको छ ।