सदरमुकाम बेनीस्थित एक विद्यालयको छात्राबासमा बस्ने विद्यार्थीको साथबाट इलेक्ट्रिक चुरोट (भेप) ४ थान बरामद भयो । विभिन्न फ्लेभरको भेप तान्ने विद्यार्थीको एक समुह मिलेर अभिभावकले पठाएको खाजा खर्च बचाएर किनेको बताए । बेला–बेलामा चुरोटको सेवन गर्ने गरेका विद्यार्थीले छात्राबासभित्र एक ठाउँमा राखेर लुकिछिपी तान्ने गरेका थिए । विद्यार्थीको सूचनाबाट शिक्षकले चाल पाएपछि मात्र यो सूचना जिल्ला प्रहरी कार्यालयसम्म पुगेको छ । भेप तान्ने विद्यार्थीका अनुसार बेनीबजारमा मावितहमा अध्ययनरत विद्यार्थीले छात्राबास तथा घरमा लुकिछिपी प्रयोग गर्ने गरेका छन् । छात्राबासमा बस्ने विद्यार्थीलाई बाहिरबाट जाने विद्यार्थीले किनेर ल्याइनदिने गरेको पाइएको भेप बरामद गरेका शिक्षकले बताए ।
‘विद्यार्थीले भेप छात्राबासमै प्रयोग गरेको पाइयो, मैले प्रहरीमा समेत सूचना दिएको छु, बेनीबजारभित्र स्कुले विद्यार्थीलाई समेत भेप बिक्री गर्ने गरेको सूचना छ’ शिक्षकले बेनी साप्ताहिकसँग भने । जनस्वास्थ्यमा गम्भीर असर पार्ने र कुलतमा फस्नेको संख्या अत्याधिक बढेको भन्दै बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरेपछि होटल तथा रेष्टुरेन्टमा सेवन गर्न नपाएका विद्यार्थी र यूवालाई ब्यापारीले भेप बिक्री गरेको पाइएको छ । सामाजिक सञ्जालमा चुरोटको लत छुटाउने पानीको बाफ खाँदा रमाइलो हुने अचुक औषधी भेप अर्थात् इलेक्ट्रिक सिगरेट भन्दै आउने प्रचारप्रसारले समेत चुरोट सेवन गर्ने विद्यार्थी, किशोरकिशोरीको साथमा भेप भेटिने गरेको छ ।

सदरमुकाम बेनीबजार नजिकैको पर्यटकीयस्थलमा घुम्न जाने किशोरीहरूले समेत भेप तान्न तल्लीन भएको दृश्यहरू देखिन थालेका छन् ।भेपलाई कुनै पनि साइड इफेक्ट नभएको, स्वादको लागि मात्रै प्रयोग गर्ने गरिएको भन्दै अभिभावकलाई समेत भ्रममा राख्ने गरेको समेत पाइएको एक शिक्षकले बताए । विद्यालयमा पढ्ने उमेरमा चुरोट सेवन गर्नेहरूलाई घरमा अभिभावक, विद्यालयमा शिक्षलाई छलेर लुकिछिपी प्रयोग गर्न चुरोटको सट्टा विद्यार्थीको रोजाइमा भेप परेको छ । ‘अरुको देखासिखीले विद्यार्थी यसको लतमा फस्दैछन्,आफ्नो बच्चाले भेप प्रयोग गरेको चाल पाउँदा पनि अभिभावकले लुकाउने गरेको पाइएको छ’ डा. गोविन्द पोख्रेलले भने । उनले सानो र चिटिक्क परेको उपकरणबाट सेवन गरिने भेप समाजमा खुल्लमखुला प्रयोगलाई न्यूनिकरण गर्न जनचेतनामुलक अभियान आवश्यक रहेको बताए ।
उनले स्वास्थ्यका लागि हुक्का, चुरोट भन्दा झनै हानिकारक छ भन्ने कुरा नबुझ्दा भेपको प्रयोग बढेको डा. पोख्रेललको भनाई छ । बेनी नगरपालिकाले सेवनमा प्रतिबन्ध नलगाउँदासम्म बजार क्षेत्रमा विद्यालयको पोशाकमा हुक्का तान्नुुभन्दा तुलनात्मक रूपमा सहज हुने भएकाले तथा सजिलो किन्न पाइने भएकाले भेप प्रयोग गर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले भेप बिक्री र प्रयोग गैरकानुनी भएको बताए । ‘हामीलाई सूचना दिनुहोस्, परिचय गोप्य राखेर बिक्री गर्नेलाई कानुनी दायरामा ल्याउँछौ’ प्रहरी निरीक्षक समेत रहेका पौडेलले भने । उनले म्याग्दीमा कुलतमा फसेका विद्यार्थीले गाँजा, चुरोट तथा सूईको माध्यमबाट नशाको माध्यमबाट लागुऔषध समेत प्रयोग गर्ने गरेको बताए । हरेक बर्ष लागु औषधका प्रयोगकर्ता सहित बिक्री गर्न आएकाहरुलाई नियन्त्रणमा लिने गरिएपनि नयाँ नयाँ रुपबाट सेवनकर्ता बढ्ने क्रममा प्रहरीलाई समेत चुनौती थपिएको छ ।
ई–सिगरेट (भेप) कति हानिकारक ?

बि.स २०८१ साल माघ महिनामा मुस्ताङको कोरला नाकाबाट ९५ कार्टुन इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) बरामद भएको थियो । कोरला नाकामा भेप बरामद भएकै कारण अहिले त्यस क्षेत्रका ब्यापारीलाई सामान ल्याउन सकस भइरहेको छ । यसलाई नेपालमा प्रतिबन्ध लगाइएको अवस्थामा खुलेआम बेनीबजारमा बिक्री तथा प्रयोग हुन्छ । चिकित्सकका अनुसार भेपमा निकोटिन जस्तो नसालु र घातक पदार्थ रहेको हुन्छ । क्यान्सरको कारक मानिएको रसायन एसेटालडिनाइल र फर्मालडेहाइड जस्ता रसायनको मिश्रण भेपमा भएको हुन्छ । फोक्सोमा लाग्ने गम्भीर खालको रोगका कारक एक्रोलिन डाइएसेटिल र डाइथेलिन ग्लुको जस्ता घातक रसायन भेपमा राखिएको हुन्छ ।
भेपले क्षणिक रूपमा एलर्जी हुने, मुटुको चाल बढाउने, रक्तचाप बढाउने र केमिकल र फ्लेभरहरूले एलर्जिक रियाक्सन गराउँछ । दीर्घकालीन रूपमा भने भेपले फोक्सोको समस्या, जसलाई ‘ईभाली’ भनिन्छ, त्यसको संक्रमण हुन सक्छ । कुँवर बताउँछन् । फ्लेभरकै कारण पनि भेपको प्रयोग बढ्छ । साना बालबालिका र किशोरकिशोरीहरूले यसको हानिबारे नबुझी प्रयोग गर्ने गरिन्छ । चुरोटको लत छुटाउनका लागि समेत प्रयोग गर्न सकिने भनेर प्रचार गरिएको भेपमा शरीरका लागि अति घातक मानिएका चुरोटमा नपाइने पदार्थ पनि रहेका हुन्छन् । मानव स्वास्थ्यका लागि घातक भन्दै चुरोट बिँडीको बेचबिखनमा नियन्त्रण थालेको सरकारले भेपको प्रचारप्रसार, बिक्रीवितरण र सेवनमा कुनै नियन्त्रण र सावधानी अपनाएको देखिँदैन ।