नजिकै कालिगण्डकी नदी उर्लिएको छ, ढिलमा बसेर खोटाङकी कमला मगरले मकै पोलेर बिक्री गर्न लागेको डेढ महिना भयो । श्रीमानले बजारबाट किनेर ल्याएको हरियो मकैं पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ । बेनी नगरपालिका–७, कालिगण्डकी नदी किनारमा निर्माण गरिएको रिङरोड अर्थात भाइरल रोड बनेपछि कमलाको दैनिकी समेत फेरिएको छ । बजारमा फलफुल बिक्री गदै हिड्ने गरेकी कमला दिनभरी आगोमा मकै पोल्दै गरेको अवस्थामा भेटिन्छन् ।

खोटाङ जिल्लाबाट मजदुर गर्न बेनीमा श्रीमानसँगै आएकी कमला सडक छेउमा पोलेर बेचेको मकैको आम्दानीले सन्तुष्ट छिन् । उनले दैनिक ४० देखि ७० गोटासम्म मकै बेच्ने गरेकी छन्। रिडरोडमा भिडभाड हुदाँ कमलाको कमाईले समेत उकालो लाग्छ । पोलेको मकै खाँदा जति स्वादिलो हुन्छ त्यति रसिलो कमलाको ब्यापार र कमाइ छ । अरूको बारीबाट किनेर ल्याएको मकै कमलाले ५० रूपैयाँमा बेच्दै आएको बताइन्। उनले ‘प्रतिगोटामा २० रुपैयाँ फाइदा हुने खर्च कटाएर दैनिक ८ सय देखि १ हजारसम्म आम्दानी हुने बताइन् ।

‘मकै खरिद गर्न श्रीमान जानुहुन्छ, मैले पोलेर बेच्छु, खर्च कटाएर घरखर्च चलाउन सजिलै पुगेको छ’ कमलाले भनिन् । उनले श्रीमानले निर्माण क्षेत्रमा काम गरेर फुर्सदको समयमा सहयोग गर्ने गरेको बताइन् । उनले मकैको सिजन बाहेक अन्य समयमा घुम्न आउनेहरूको चाहना अनुसारको ब्यापार गर्ने योजना बनाएको बताइन् । ‘घरखर्च धान्न सजिलो भएको छ, हामीलाई बचत भन्दा खर्चको चिन्ता हुन्छ,ज्यालादारीमा भन्दा काँचो मकै ल्याएर पोलेर बिक्र गर्दा सजिलो भएको छ’ कमलाले थपिन् । रिडरोडमा घुम्न आउनेहरूले कमलाले पोलेको मकैको स्वाद मनपराउँछन् । दिनभरी पसलमा बसेर बेलुकी रिडरोडमा घुम्न जाने न्यूरोडस्थि नमस्ते टे«डका सञ्चालक अर्जुन आचार्यले मजदुरीबाट संघर्ष गरेकी कमलाले पोलेको मकै खाने गरेका बताए । ‘उहाँको मेहनत लोभलाग्दो छ, हातमा भएको सीप प्रयोग गरे गुजारा चलाउन सकिन्छ भन्ने सन्देश दिनुभएको छ’ म्याग्दी मोबाइल एण्ड इलेक्ट्रोनिक्सका अध्यक्ष समेत रहेका आचार्यले भने ।

बेनी संरक्षणका लागि बनाइएको तटबन्ध माथि आरसीसी ढलान गरेर बजार भित्र वैकल्पिक सडकका रुपमा विकास गरिएको रिङरोडले कमला जस्तै साझँविहान खानेकुरा बिक्री गरी आम्दानी गर्नेको संख्या बढिरहेको छ। कालिपुलस्थित कालिगण्डकी मोटरेबल पुलदेखि म्याग्दी खोलाको बहुउद्देश्यी मैदानसम्म करिब ९ सय मिटरको रिङरोडमा अधिकांंसको जमघट म्याग्दी जेसीज, नेपाल भाषा मंकाखल र थकाली सेवा समाजको भवन आसपासमा हुन्छ । उक्त क्षेत्रमा पैदल तथा सवारीसाधनमा ओहोरदोहोर गर्ने चालक, यात्रुले समेत दिउँसोको समयमा मकै तथा अन्य सामान किनेर खाने गरेका छन् ।
