हिमाली जिल्ला म्याग्दीमा राहदानीको दस्तुरबाटै एक वर्षको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको छ । गएको आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रशासन कार्यालयले गरेको राहदानी सिफारिसबाट कुल तीन करोड १६ लाख ४० हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको हो ।
गतभन्दा अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा कुल तीन करोड ३९ लाख २२ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको थियो भने आव ०७९/८० मा भने चार करोड ३० लाख ४७ हजार दुई सय ५१ रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीको लेखा शाखाले जनाएको छ । गएको वर्षमा भन्दा अघिल्ला आवमा राहदानीबाट धेरै राजश्व सङ्कलन हुनुमा त्यति बेला राहदानी पनि धेरै नै सिफारिस भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले साधारण र द्रुत सेवा गरी दुई प्रकारका राहदानी सिफारिस तथा जारी गर्दै आइरहेको छ । गत वर्ष म्याग्दी जिल्लामा साधारण तथा द्रुत गरी कुल ५ हजार ७ सय ३५ वटा राहदानी सिफारिस भएका थिए भने ५ हजार ४ सय ४६ वटा राहदानी वितरण गरिएकोमा ४ सय ४१ वटा राहदानी वितरण गर्न बाँकी रहेका छन् । यसै गरी गतभन्दा अघिल्लो आवमा साधारणतर्फ कुल ५ हजार ९ सय १३ र द्रुत सेवाका ५५ वटा राहदानी सिफारिस गरिएको थियो ।
सामान्य राहदानीका लागि प्रति राहदानीबापत पाँच हजार रुपैयाँ राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने हुन्छ भने द्रुत सेवाको राहदानी परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा प्रति राहदानी १० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ । म्याग्दीको हकमा भने जिल्ला प्रशासन कार्यालयको परिसरमा प्रभु बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना गरिएकाले सेवाग्राहीले राहदानी बापतको दस्तुर सोही काउन्टरमा जम्मा गर्ने गर्दछन् । यसअघि जिल्ला प्रशासन कार्यालयको पहलमा प्रभु बैङ्कसँगको सहकार्यमा कार्यालय परिसरमै स्थापना भएको एक्सटेन्सन काउन्टरले सेवाग्राहीहरूलाई भने राहत मिलेको छ ।
पछिल्लो नयाँ व्यवस्था अनुसार राहदानीको शुल्क बैङ्कमा जम्मा गरी त्यसको भौचर जिल्ला प्रशासन कार्यालयमा बुझाएर रसिद लिनुपर्ने व्यवस्था रहेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बताउनुभयो । त्यस्तै गत वर्ष हातहतियार नवीकरण तथा नामसारी दस्तुर बापत कुल तीन लाख दश हजार तीन सय रुपैयाँ राजश्व सङ्कलन भएकोमा गत वर्षभन्दा अघिल्लो आवमा भने कुल तीन लाख १० हजार तीन सय रुपैयाँ राजश्व सङ्कलन गरिएको थियो ।
यसै गरी गत वर्ष प्रशासनिक दण्ड तथा जरिवानाबाट एक लाख २१ हजार, संस्था दर्ताबाट ३३ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट एक हजार छ सय ४५ रुपैयाँ राजश्व सङ्कलन भएको सहायक प्रजिअ आचार्यले जानकारी दिनुभयो । गतभन्दा अघिल्लो आवमा संस्था दर्ताबाट चार लाख ५२ हजार दुई सय ८५ र प्रशासनिक दण्ड तथा जरिवाना स्वरुप ५० हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार म्याग्दी जिल्लाको कुल जनसङ्ख्या १ लाख ७ हजार ३३ रहेको छ । विदेशमा बसोबास गर्ने १० हजार ७ सय ६६ जना रहेका छन् । जनसङ्ख्या अनुसार कृषि क्षेत्रमा दक्ष र अर्धदक्ष जनशक्तिको सङ्ख्या ६७ दशमलव ३२ प्रतिशत रहे पनि यसमध्ये केही प्रतिशत वैदेशिक रोजगारीमा नै संलग्न छन् ।